
काठमाडौं। पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस हुने भएको छ।
नेकपा [एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलहरूको बीचमा बुधबार बस्ने प्रतिनिधि सभामा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएको जानकारी दिए।
‘भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार ९फागुन २१० गतेको प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं। सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो,’ उनले भने।
स्रोतका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा उपेन्द्र यादवसहित सत्तापक्षको छलफल भएको थियो। छलफलमा फागुन २१ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सहमति जुटेको हो।
राष्ट्रिय सभामा भने फागुन २२ गते स्वीकृतिका लागि पेस हुने मुख्य सचेतक बर्तौलाले बताए। राष्ट्रिय सभाको अर्को बैठक पनि बिहीबार नै तय भएको छ।
सहमतिअनुसार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुनेछन्।
एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार भूमि अध्यादेश अझै अनिर्णित छ। यसमा सत्ता पक्षले छलफल गरिरहेको बर्तौलाले बताए।



