काठमाडौँ । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीकी सन्जुमाया थिङले चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा स्वनिम र महिलामा सन्जु पहिलो भएका हुन् ।
सातदोबाटोस्थित कराते एकेडेमी हलमा भएको खेलमा स्वनिमले ४२.३ अंक जोडे । आर्मीका विनय लिम्बू दोश्रो तथा गण्डकी प्रदेशका बसन्त परियार र एपीएफका मनीष कार्की तेश्रो भए । सन्जुले ४१.८ अंक बटुलिन् । बागमती प्रदेशकी एलिना थिङ दोश्रो तथा सुदूरपश्चिमकी वर्षा साउद र एपीएफकी मिरा खाती तेश्रो बने ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा जिल्ला प्रमुख डोजो लगनखेल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम कातामा प्रहरी पहिलो भयो । एकल काताका स्वर्ण विजेता स्वर्णिमले फुर्तेन तामाङ र जगतसिंह धानुकसंग मिलेर अर्को स्वर्ण पनि चुमे । सो टोलीले ४२.२ अंक जोड्यो । बागमती दोश्रो तथा कोशी प्रदेश र एपीएफ तेश्रो स्थानमा रहे । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।