
काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता विदुर सापकोटाको निधन भएको छ ।मिर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो ।
२०७० सालको संविधानसभा निर्वाचनमा उनी एमालेको तर्फबाट काभ्रे ४ बाट निर्वाचित भएका थिए ।
लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिव रहेका,स्वर्गीय सापकोटाले पञ्चायती शासनविरुद्धको संघर्षदेखि भूमिगत राजनीति हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको काभ्रे जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै लामो समय पार्टीको सुदृढीकरणमा योगदान दिएका थिए । एमाले विभाजनको बेला पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्जको रूपमा क्रियाशिल सापकोटा काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकको संस्थापक प्रकाशक समेत हुन् ।
स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
सापकोटाका श्रीमती र एक छोरी छन्।



