
पुराना पुस्तक
कृति : शिशिरका अन्तिम दिनहरु
विधा : नाटक
नाटककार : सरुभक्त
जीवनको प्रयोगको चिन्तनको निम्ति र चिन्तनको प्रयोग जीवनको निम्ति लक्षित छन् नाटकहरु । हरेक नाटक सन्देशप्रद छन्।
विभिन्न शिर्षकका ८ वटा नाटकहरु यस कृतिमा परेका छन् । हरेकले कुनै न कुनै सन्देश छरेका छन् । शुन्यवादी सोचलाई नाटकमा प्रयोग गर्न सक्षम छन् नाटककार । यी बौद्धिक रुपले कलात्मक छन् । गतिशिलताले भरिएका छन् ।
तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं.२०४२ सालमा शिशिरका अन्तिम दिनहरुलाई प्रकाशित गरेको थियो ।
कृति :संसारमा सबभन्दा एक्लो जीव
विधा : उपन्यास
उपन्यासकार : वासु शशी
घट्ना प्रधान उपन्यास हो यो । कवितात्मक भावमा सरल र लोभिला अनुभूतिहरुलाई उपन्यासले उधिनेको छ । लोग्ने स्वास्नी मान्छेको यौन सम्बन्धको कथा छ । विभिन्न धार्मिक प्रसंगहरु जोडेर मीठासपूर्ण बनाउने उपन्यासको प्रयास स्तुत्य छ । महिलामा भएका असाधारण चरित्र र जिम्मेवारीको कारण महिलालाई सबभन्दा एक्लो जीवको उपमा दिएका छन् । सम्बन्धका घातप्रतिघात,दुख पीडा,जीवनका सुस्केराहरुले उपन्यास छाएको छ । संक्षेपमा भन्नुपर्दा नारी यौन मनोविज्ञानको कथा हो ।
संसारमा सबभन्दा एक्लो जीवलाई रत्न पुस्तक भण्डारले पहिलो पटक वि.सं.२०५२ सालमा प्रकाशित गरेको थियो ।
कृृति : ओ इरानकी मेनका
कृति : गजलसंग्रह
गजलकार : रुपक वनवासी
भाव र विचारहरुको दोभान लाग्छन् वनवासीका गजलहरु । आम जनजीवनसँग जोडेर विविध विषयमा उनका गजलहरु यहाँ देखिन्छ । सुन्दर ढंगले काफिया र रदिफको प्रयोग भएका,समसामयिक विषयवस्तुहरुलाई पर्गेलेर लेखिएका गजलहरु सुस्वादु छन् । मानवीय संवेदनाले ओतप्रोत छन् । मान्छेमाथि सृजना भएका गजलहरु धेरै छन् । यसैले समसामयिकता गजलका विशेषता लाग्छन् । कृषिका कुरा,धर्मका कुरा,राजनीतिका कुरा,मायाप्रेमका कुरा हरेक कुरामा भाव र अनुभूति मिसिएको छ । यौवनको उत्ताप छ गजलमा । भनौं प्रेमइतर विषयले पनि स्थान पाएका छन् । यसकृतिभित्र ५४ थान गजल छन् ।
ओ इरानकी मेनका विं.सं.२०६५ सालमा प्रकाशित भएको थियो ।








