काठमाडौं । देशभर आज मौसम मुख्यतया सफा रहनेछ ।
पश्चिमी वायूको सामान्य प्रभाव रहँदा मौसम सफा रहेको हो
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले दिउँसो कोसी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
हिजो ९बिहीबार० बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो । बुधबार सोही समयमा काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो । यसले काठमाडौंको तापक्रम निरन्तर घटिरहेको देखाउँछ ।
अर्को कुनै प्रणाली विकास नभएर अहिलेकै अवस्था रहिरहे अझै केही दिन चिसो बढ्नसक्ने विभागको अनुमान छ ।
यसैबीच, पश्चिम र मध्य तराई क्षेत्रमा हुस्सु लाग्दा पूर्वी तराईमा भने बाक्लो कुहिरो लागेको छ ।
आज पश्चिम तराईमा हुस्सु र कुहिरो केही पातलो छ भने पूर्वी तराईका अधिकांश स्थानमा बाक्लो कुहिरो लागेको छ।
विराटनगरमा ५० मिटर र भैरहवामा १०० मिटर भिजिविलिटी छ । घाम लागेपछि केही कम हुने र दिउँसोसम्म हट्ने बताइएको छ ।
तराईका धेरै क्षेत्रमा बिहान यातायात सेवा प्रभावित हुने भएको छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा हवाई सेवा पनि प्रभावित हुन्छ ।





