
चर्चामा पुस्तक
दृढ पाइला
स्कुले विद्यार्थीहरुको शैक्षिक भ्रमणसंगै आत्मियता,प्रेम,स्नेह उपन्यासभरी पोखिएको छ दृढ पाइलामा । यसमा एकजना व्यक्तिको समाज,परिवारप्रतिको के कर्तव्य हुन्छ,भूमिका के रहन्छ भन्ने कुरा औल्याउन खोजिएको छ । राजधानीका विभिन्न स्थानहरुको चर्चा गर्दै ऐतिहासिक र धार्मिक बैभवताको जानकारी समेत उपन्यासले दिएजस्तो देखिन्छ ।
सामाजिक कथानकताको विषयले उपन्यासमा स्थान पाएको छ । यसैले समसामयिक नेपाली परिवेश यहाँ पढ्न सकिन्छ । जीवनलाई सुखदुखको समिश्रण हो भन्ने उपन्यासले दर्शाएको छ ।
सरल भाषाशैलीले उपन्यासमा प्राण भरेको छ ।
उपन्यासकार पुनम घिमिरेको प्रस्तुत कृति दृढ पाइलालाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।
मलामी पहाड र सारङ्गी
कवि रमेश श्रेष्ठ बिम्बकविको रुपमा चर्चित छन् । उनका अघिल्ला कविताकृति जस्तै यो कृतिमा पनि सुन्दर,अनौठा,बिम्बहरु प्रयुक्त भएका छन् । कलात्मकताको लेपन लागेका कविताहरु यसमा परेका छन् । दुई भागमा विभक्त कविताहरुमा मलामी पहाड अन्तर्गत ६१ र सारङ्गी शिर्षक अन्तर्गत १७ थान कविताहरु समावेश छन् । साधारण शब्दमा गाम्भिर्य भावमा उन्मुक्त भएर र विषयवस्तुलाई पोख्न सक्ने कविको विशेष क्षमतालाई कविताहरुले प्रष्ट पार्छन् ।
कविताहरुमा कविले मान्छेका जिजीविसाहरुलाई उधिनेका छन् ।जीवनका विभिन्न पक्षहरुलाई समेटेका छन् । करुण रसलाई समेत कवितामा घोलिएको पाइन्छ । तब त सुस्वादु लाग्छन् कविताहरु । अनुभूतिका छालहरु मज्जाले उराल्छन् कविताहरुले तब त सुन्दर मनमोहक लाग्छन् कविताहरु । प्रकृतिका विभिन्न सादृश्य कुराहरुलाई प्रतिक बनाएर बेजोड कविता कोर्छन् कवि । भोक विरुद्द पनि केही कविता लक्षित लाग्छन् । कविताहरु काव्यात्मक चेतले भरिएका छन् र त पाठक तान्छन् । सुन्दर बिम्ब,प्रतिकहरुको भरिभराउ कविताहरुले वर्तमान युगको प्रतिनिधित्व गरेका छन् ।
मलामी पहाड र सारङ्गीलाई साहित्यपोष्टले प्रकाशनमा ल्याएको हो ।
काठमाडौंलाई महासागरको पानी
वियोगी बुढाथोकीको नियात्रा कृतिभित्र विदेशको फन्कोभित्र २५ थान विभिन्न शिर्षकृत नियात्राहरु समावेश छन् भने स्वदेशको चक्कर अन्तर्गत चार थान नियात्रा संग्रहित गरिएको छ । निजात्मकताले भरिएका,जानकारीमूलक विषयवस्तुहरु समेटिएका नियात्राहरु पाठकहरुलाई सुरुचिकर लाग्नसक्छन् । विदेशतर्फको नियात्रामा अष्ट्रेलियाका विभिन्न स्थान,विषय रहेका छन् । ताज्मानिया टापु र यससंगका जानकारी छ । होबार्ट र ब्रनी आइल्याण्डमा रम्न सकिन्छ । भूपरिवेष्ठित देशको नागरिकले महासागरमा १० घण्टा व्यतित गर्दाको अनुभूति बडो रोचक छ । अंग्रेज साम्राज्यले बनाएको कारागारको कारुणिक तर जिज्ञासु विषय,क्वीन्सल्याण्ड लगायतका विभिन्न स्थान,परिवेशहरुलाई नेपाली सन्दर्भ जोडिएर यायावर ढंगले प्रस्तुत गरिएको छ । यसैगरी स्वेदशका केही यात्राको पस्काई कृतिमा पाइन्छ । प्रदीप गिरिको मृत्यूमा दुखेको मनको अभिव्यक्तिले पाठकलाई द्रवित पार्छ । कुशादेवीदेखि लाँकुरीभञ्ज्याङसम्मको यात्रामा गरिएको स्थानीयताको वर्णनले पाठकलाई घुमुँघुमुँ पार्छ ।
कौतुकमय छ कृति । निजात्मक अनुभूतिमा रहेर तथ्यात्मकतामा प्रस्तुत गरिएको छ । नियात्रा सुस्वादु लाग्छ ।
काठमाडौंलाई महासागरको पानीलाई शब्दघरले प्रकाशनमा ल्याएको हो ।







