काठमाडौं । नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् ।
सअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६।५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३।५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १(१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् ।






