
लघुकथा
सरस्वती श्रेष्ठ ‘सरु’
मृगतृष्णा
गर्मी यामको घाम टाउकोमा थियो । बालुवाको मरुभूमिमा टल्केको उज्यालो पानीजस्तो देखिन्थ्यो । प्रितम धेरै दिनदेखि हिँडिरहेको थियो । न त खानेकुरा थियो , न त पिउने पानी । शरीर थकित मन अस्थिर ।
अचानक टाढा उसले हरियो बगैँचा र पानीको पोखरी देख्यो । आँखा झिमिक्क गरेर फेरि हेर्दा दृश्य अझ स्पष्ट थियो । “अब त म बच्छु ।” उसले मनमनै भन्यो र हतारमा त्यो दिशातर्फ दौडन थाल्यो ।
तर जतिसुकै दौडे पनि त्यो बगैँचा र पोखरी झन् झन् टाढा जान्थ्यो । अन्तत : ऊ टुक्रुक्क बसेर स्याँस्याँ गर्दै आफ्नो अनुहार हातले छोप्दै बर्बराउन थाल्यो , “यो सब भ्रम हो , मृगतृष्णा मात्र ।”
त्यसैबेला उसको छेऊमा एक जना बुढो उभिएर मुस्कुराउँदै भने- “बाबु , जीवन पनि यस्तै मृगतृष्णा हो । जसलाई हामी दौडेर समात्न खोज्छौँ,त्यो झन् टाढा जान्छ । तर जीवनको असली स्रोत तिमीभित्रै छ । आफूलाई चिन्दा मात्रै तिमीले शान्ती पाउँछौ ।”
प्रितमले बुढोको कुरा सुनेर पहिलो पटक आफूलाई हेर्न खोज्यो थकानका बिच उसले थाहा पायो – खोज बाहिरको होइन भित्रि शक्तिको हो ।








