
प्राचीन खगोल विद्याले पृथ्वीलाई सूर्यले घुम्छ भन्ने थियो र पृथ्वी गोलो पिण्ड नभइ चेप्टो थियो भन्ने गर्दथ्यो । त्यही भएर हनुमानढोका राजदरवारको मोहनकाली चोकमा भूगोल भनेर चेप्टो थाल जस्तो पृथ्वीको प्रतीक बस्तु बराहले उचाली राखेको मूर्ति त्यहाँ अद्यापि हामी देख्न पाउँछौं । यही नै एउटा पृथ्वी चेप्टो थियो भन्ने बुझाइ मल्लकालमा राजा प्रतापमल्लको पालासम्म पनि थियो भन्ने ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । यो हेर्दा त्यतिबेला सम्म पनि पृथ्वी अचल र सूर्यले पृथ्वीलाई घुम्दथ्यो भनेर बुझ्ने गर्दथे ।
पछि आएर सूर्य अचल हो केवल पृथ्वी र चन्द्रमाले मात्र सूर्यलाई घुम्ने गरेको हो भन्ने विश्वास गर्न थालियो । अयन विज्ञानको आविष्कार पछि पृथ्वी र चन्द्रमा मात्र होइन सूर्य समेत आफ्नो प्राचीमा हरेक ३।३ महिनामा सर्ने गर्दछ भन्ने कुरा सिद्ध गर्न सकेको हो । अहिले आधुनिक युगमा वैज्ञानिकहरुले अनेकौं अध्ययन अनुसन्धान गरी सके उत्तरायण भनेर सूर्य उत्तरमा सर्ने र दक्षिणायन भनेर सूर्य दक्षिणमा सर्ने गरेको बुझ्न थाले तर कतिपय मान्छे यो कुरा देखादेख पनि सूर्य आफ्नो ठाउँमा हलचल नै नगरी स्थीर भएर रहेको हो , सूर्य सरेको होइन भनेर बुझाइ राख्दै आइरहेका पनि रहेछन् । यो पनि एक प्रकारको समस्या हो किनकि यस्तै विचार बोक्नेहरुले भ्रम फैलाई रहेको देखिन्छ ।
बिदेशमा बस्ने एक नेपाली मित्रलाई बुझाउन ज्योतिष ग्रन्थहरुमा सौरमासको वर्ष चान्द्रमासको वर्ष बारे लेखिएको हुन्छ तर नेपालसंवत् चान्द्रमासको वर्ष होइन भनी फोन मै धेरै पटक उहाँलाई बुझाउन खोजें । उहाँ जहिले पनि पृथ्वी र चन्द्रमाले परिक्रमा गर्दा चन्द्रमाको ३५४ दिनहुुने र सूर्यको ३६५ दिन हुने कुरा मात्र दोहराइरहनु हुन्थ्यो । आफनो कक्षमा चन्द्रमा र पृथ्वी घुम्ने हो तर सूर्य पनि आफनो प्राचीमा तलमाथि सर्ने हो यसैले गर्दा उत्तरायण दक्षिणायन हुने हो भन्दा उहाँले मलाई मूर्ख ठान्नु भयो र सूर्य पनि सरेको भन्यो भने दुनियाँ तिमीदेखि हाँस्न थाल्नेछ भन्नु भयो । यो वाहियात तर्क नगर्नु यसले तिमीलाई नै घाटा पार्ला है भन्नेउहाँको चेतावनी थियो । बरु उहाँले अयन विज्ञान बारे अलिकता पनि ज्ञान राख्नु भएको रहेन छ भन्ने मलाई लाग्यो । कतिपय मान्छे बिदेशमा बसेको र विदेशमा पढेको हुँदैमा उनीहरुको कुरा नै सही हुनु जरुरी हुने होइन । यही विषयमा केन्द्रित भएर उत्तरायण दक्षिणायन र २४ दिन वर वा पर सरेको कुरा उहाँ मित्र र अरुले पनि निकाल्दै आएको देखी यही बारेमा एउटा लेख तयार गर्नु पर्ने आवश्यकता ठानी यो लेख तयार गरेको हो ।
प्रायः हरेक ज्योतिषका पुस्तकहरुमा अयन दुईवटा हुन्छन् भनी दिइएको हुन्छ । ती दुई अयन भन्नाले उत्तरायण र दक्षिणायन हुन् । मकर संक्रान्तिदेखि आषाढ मसान्तसम्मको ६ महिना ३ ऋतु उत्तरायण र कर्कट संक्रान्तिदेखि पौष मसान्तसम्मको ६ महिना ३ ऋतु दक्षिणायन हुन्छ पनि भनेर दिइएका हुन्छन् । यो सामान्य ज्ञान मै पर्दछ ।
अयन ज्ञानमा जव पृथ्वीमा सूर्योदय मकर कुम्भ मीन मेष हुँदै मिथुन राशिबाट कर्कटमा प्रवेश गर्छ त्यो भनेको माघदेखि आषाढसम्मको ६ महिनाको समय उत्तरायण हुने भएको हो । उत्तरायणको समयमा पृथ्वीको झुकाव दक्षिणतिर ढल्किएको हुन्छ । त्यो समय पृथ्वीको उत्तरी अक्षाँशमा पर्ने भूभागहरुमा गर्मी बढी हुन्छ र त्यो समयमा ती मुलुकहरुमा दिन लामो र रात छोटो हुन्छ । नेपाल उत्तरी अक्षाँशमा पर्ने मुलुक मध्ये एक पर्दछ ।
त्यस्तै गरी पृथ्वीमा सूर्योदय कर्कट सिंह कन्या तुला वृश्चिक हुँदै धनुबाट मकरमा प्रवेश गर्छ त्यो भनेको श्रावणदेखि पौषसम्मलाई दक्षिणायण भनिन्छ । दक्षिणायणको समयमा पृथ्वीको झुकाव उत्तरतिर ढल्किएको हुन्छ । यस समयमा पृथ्वीको दक्षिणी अक्षाँशमा पर्ने मुलुकहरुमा गर्मी बढी हुन्छ र यो समयमा ती मुलुकहरुमा दिन लामो र रात छोटो हुन्छ । यो पनि सामान्य ज्ञान अन्तर्गत नै पर्दछ । नेपाल दक्षिणी अक्षाँशमा पर्ने मुलुक होइन भनेर बुझ्न सकिन्छ ।
अयन विज्ञानले यसलाई अझ स्पष्ट पारेर यसरी भन्छ । अयन भनेको गति अथवा सूर्य हिड्ने मार्ग हो । सूर्य सँधै प्राची (पूर्व) को मध्य विन्दुमा रहँदैन , किन्तु चैत्र( मेष संक्रान्तिबाट) श्रावण (कर्कट संक्रान्ति) को आरम्भसम्म प्राचीको दक्षिणभागबाट सरेर उत्तर भागमा जान्छन् र श्रावणदेखि कार्तिक(तुला संक्रान्ति)को आरम्भ तक फेरि फर्केर त्यही प्राचीको मध्य विन्दुमा आउँछन् । यसै गरी कार्तिकदेखि माघ(मकर संक्रान्ति)को आरम्भसम्म प्राचीको उत्तर भागबाट सरेर दक्षिण भागमा फेरि फर्केर वैशाख(मेष संक्रान्ति)को आरम्भमा प्राचीको मध्य विन्दुमा आउँछन् भनेर प्रा चेतोनाथ शर्मा आचार्यले आफनो पुस्तकमा व्याख्या गर्नु भएको छ ।(आचार्य , २०४५, पृष्ठ ठ )
यहाँ भन्न खोजेको कुरा यही कि चन्द्र पृथ्वी मात्र होइन सूर्य पनि चलायमान छ भन्ने कुरा केवल मैले मात्र विश्वास गरेको कुरा होइन । मेरो मित्रको भनाइ अनुसार ममात्र सूर्य पनि चलायमान भन्ने लागेको होला तर अयन विज्ञान बुझने तमाम विद्वानहरु पनि छन् भन्ने उहाँलाई ज्ञात नभएको हो ।
यस प्रकार सूर्य पनि स्थीर छैन यो पनि चलायमान छ भन्ने कुरा शास्त्र मै छ र सूर्य उत्तरायण र दक्षिणायन गतिले पनि सूर्य चलायमान छ भनी स्पष्ट पार्दछ । यसरी शास्त्रले सिद्ध गरी सकेको कुराहँदा हुँदै मान्छेहरु घाम नापेर हिड्नु जरुरी छैन ।
बरु यो अयन ज्ञान र अयन विज्ञानको व्याख्यामा कहाँ निर के कसर छ त्यसको खोज तलास गर्न सक्नु पर्यो कि त । होइन भने सुर्य आफनो प्राचीमा कहिले तल कहिले माथि सरिरहेको हुन्छ भन्दा भन्दै पनि घाम नापेर देखाइ रहनुजरुरी छैन । बेकारको तमासा मात्र हो ।
यदि जसलाई सूर्य चलायमान छ भन्ने कुरामा पटक्कै विश्वास लाग्दैन उनीहरुले अयन विज्ञान र अयन ज्ञानमा थप अध्ययन अनुसन्धान गरेर यो हो है भनेर नयाँ कुरा ल्याउन सक्नु पर्दथ्यो तर खोइ एउटा सुईकोपनि ल्याउन सकेको होइन खाली गफ मात्र छाँटेर हुने होइन । त्यत्तिकै सूर्य स्थीर छ भनेर कराएर मात्र पनि हुँदैन र शास्त्रले नै चलायमान भनेर बताइ रहेको छ घाम नापेर देखाइ रहनुपनि जरुरत छैन ।
। प्राचीन कालमा पनि विभिन्न विद्वानहरुको बीच यस्तै विषयमा छलफल हुने गर्दथ्यो र कोही भन्थे सूर्यले पृथ्वीलाई घुम्थ्यो भनेर त कोही चाही होइन पृथ्वीले सूर्यलाई घुम्थ्यो भनेर विश्वास गर्नेहरु थिए । यस्तै बादविवाद भइरहन्थ्यो पछि वैज्ञानिक अनुसन्धानले पृृथ्वी र चन्द्रमाले सूर्यलाई घुम्ने हो । पृथ्वी आफनो धुरिमा एक फन्को घुम्दा एक दिन हुन्छ र त्यसरी घुम्दैघुम्दै सूर्यलाई पूरा वृत्त घुमे पछि एकवर्ष हुन्छ । त्यो एक वर्षमा ३६५ दिन हुन्छ । पाश्चात्य जगतमा चाहिं ३६५.२५ को एक वर्ष मान्ने हुनाले ४ वर्षको एकचोटी फेब्रुवरी महिना २९ दिनको महिना अरु ३० र ३१ दिनको महिना गरेर जाने प्रथा बसाले । नेपालमा चाहीं १२ वटा संक्रान्तिको बार गणना गरेर ती बार बीच दिन हाल्दै जाँदा दिन लामो हुने महिना जेष्ठ श्रावण मा ३२ दिन पनि हुनआउने र पौष माघमा दिन छोटो हुने महिना हरुमा २९ दिनको महिना हुन आउने गर्दछ ।
नेपालसंवत्को क्यालेण्डर बनाउनेहरुले नेपालसंवत् चान्द्रमासको वर्ष भन्ने गलत बुझाइ समात्दै आएको हुनाले चान्द्रमासको वर्ष ३५४ दिनहुन्छ भन्दै नेपालसंवत्को क्यालेण्डरमा कार्तिक महिना एउटा १९ दिनको महिना बनाइ ३५४ दिनको हावादारी क्यालेण्डर बनाइ चित्त बुझाएर आएका छन् ।
सारा दुनियाँलाई थाहा छ कि ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुन्छ । अर्को कुरा जनवरी देखि जूनसम्म यो ६ महिना उत्तरायण र जुलाइ देखि डिसेम्वर यो ६ महिना दक्षिनायण हुने पनि धेरैलाई थाहा छ । सामान्य मान्छेहरुलाई केवल ६ महिना सूर्य उत्तरायण हुन्छ र सूर्य ६ महिना दक्षिणायन हुन्छ भन्नेसम्म थाहा हुनेगर्छ । तर कहिलेदेखि उत्तरायण हुने र कहिले देखि दक्षिणायन हुने थाहा नपाउनेहरु पनि हुन सक्छ । यस्तो अवस्थामा हेर्दा जो विद्धान जस्तो देखियो उसले जे भनेको त्यही सही भनेको होला भनेर विश्वास गर्दै आइरहेका पनि छन् । कोहीकोही विदेशी विद्वानले लेखेको भन्दै सोझै विश्वास गर्दै आएका पनि छन् । तर सवै पहेंलो धातु सुन हुँदैनन् भन्ने कुरा बुझेका भने होइनन् ।
त्यही भएर उत्तरायण र दक्षिणायन बारेमा मान्छेहरु जे मनलाग्यो त्यही फलाक्ने गर्दै आएको केही उदाहरण यस प्रकार छ
….लिच्छवि संस्कृतिमा सूर्यको उत्तरायण पौष र दक्षिणायन असार देखिन आउंछ । केवल सूर्य सिद्धान्तको गणितमा माघ र श्रावण हुन् । लिच्छवि संस्कृतिमा सूर्यले पृथ्वीको वरिपरि घुम्छ । त्यसैको कारणबाट उत्तरायण र दक्षिणायन आएका हुन् । पृथ्वीले सूर्यलाई वरिपरि घुमेको भए त्यसरी सूर्यको अयन किन चाहियो? लिच्छवि संस्कृतिमा सूर्यको पूर्वायन छैन ।………( ललितपुर अंक ५वर्ष २०५३,पृ४०))
यो अभिव्यक्ति एक जना प्राध्यापक इतिहासकारको हो । उनले लेख्यो भन्दैमा आँखा चिम्लेर पत्याउन हुंदैन । किनभने उहाँको भनाइबाट लिच्छविकालमा पृथ्वीलाई सूर्यले घुमेको हुंदा उत्तरायण दक्षिणायन आएको तर्क छ । यस्तो तर्कको पछि लाग्नु हुंदैन ।
कोही आर्यभट नाम गरेको प्रशिद्ध विद्वानले भनेको भनेर यसरी बताउने गर्दछन्
सूर्य विहान पूर्वमा उदाई आकाशमा माथि चढ्दै आई साँझमा पश्चिममा अस्ताएका देखिन्छन् ।चन्द्रमा ताराहरु पनि पूर्वमा उदाई पश्चिममा अस्ताएका देखिन्छन् । प्रतिदिन यो घटना हुन्छ ।पृथ्वीको पूर्वाभिमुख स्वा· भ्रमण भएकोले यो घटना भएको हो ।
( पूर्णिमा अंक ३४ १३९ पृष्ठं)
आकाशमा रहेका सूर्य चन्द्र ताराहरुलाई प्रवहवायुले पश्चिमतिर धकेल्दा यो घटना भएको , पृथ्वीको स्वा·भ्रमण भएकोले यो घटना भएको होइन भनी पछि अरु विद्वानहरुले आर्यभटको विरोधमा लगत्तै लेखिन थालियो ।
( पूर्णिमा अंक ३४ १३९ पृष्ठं)
पञ्चसिद्धान्तिकाको अध्याय १३ मा वराहमिहिरले यसो लेखेका छन् भनी बताइएको छ ।सुमेरुको सोझै माथि आकाशमा उत्तर ध्रुवतारा छ ।सुमेरुको सोझै तल (कुमेरुको सोझै माथि ) आकाशमा दक्षिण ध्रुवतारा छ ।उत्तर ध्रुवतारा दक्षिण ध्रुवतारामा जाने अक्षमा भपञ्जर बाँधिएको छ । त्यस भपञ्जरलाई प्रवह वायुले घुमाउँछ ।पृथ्वीको साँधमा रहेको वस्तु घुमेझैं गरी घुमिरहन्छ । भपञ्जर स्थिर छ भनी केही मानिसहरु भन्दछन् । पृथ्वी घुम्ने भए आकाशमा उडेर गएका बाजहरु फेरी आफ्नो गुँडमा पर्केर नआउनु पर्ने ? एक दिनमा पृथ्वीको एक चक्कर पूरा हुने हुनाले सो घुमाइको वेगले ध्वजाहरु सँधै पश्चिमतिर तन्किनु पर्ने? पृथ्वी विस्तारै घुमेको छ भन्ने हो भने एकदिनमा पृथ्वीले एक चक्कर कसरी खान्छ त? वराहमिहिर पछिका अरु धेरै ज्योतिषीहरुले पनि वराहमिहिरको यो मतको समर्थन गरेका छन् ।
( पूर्णिमा ३४ अंक १४० पृष्ठ )
यसरी पृथ्वी स्थिर कि सूर्य स्थिर भन्ने विषयमा लामो वहस विचार विमर्शहरु हुने गर्दथ्यो । तर पहिले जस्तो ढंगले विचारविमर्श हुने गर्दथ्यो अहिलेको आधुनिक युगमा आएरपनि यही भुमरिमा मान्छेहरु अल्झिरहेको देखिनु भनेको राम्रो संकेत होइन । यसरी राम्रो संकेत होइन भनेर पनि थाहा छ पाश्चात्य विद्वानहरुको बढी विश्वास गर्दै आएका मानिसहरु अहिलेसम्म पनि सूर्य पनि चलायमान छ भन्ने कुरामा पटक्कै विश्वास छैन भन्दै उत्तरायण र दक्षिणायण भन्ने नै यो पुरातन मान्यता मात्र हो । अहिले यो सम्वन्धि पुरातन मान्यतालाई विश्वभरिका वैज्ञानिकहरुले मान्यता दिंदैन भन्न थालेका छन् । त्यही उत्तरायण दक्षिणायण पुरानो मान्यतालाई बिथोल्नका लागि पौष संक्रान्तिको घाम र माघसंक्रान्तिको घाम नापेर हिंडी रहेको जुन देख्दै आएको हो त्यो यसैको ज्वलन्त उदाहरण हो ।
यस्तै आफनो विचार दिने क्रममा संशोधन मण्डलको धारणा यस्तो छ
अयनांशको ज्ञान कहिलेदेखि भयो भनी खोज्दै जाँदा वि.सं ९६१ मा वटेश्वरले अयनांशको संकेत सम्म गरेका र वि.सं ९८९ मा मुञ्जालले चाहिं अयनांशको स्पष्ट चर्चा गरेका रहेछन् भन्ने देखियो ।(पूर्णिमा ३९ अंकका १४५ — १४६ पृष्ठ)
संशोधन मण्डलले अयनांशको मात्रै अध्ययन गरेको रहेछ अतः उत्तरायण र दक्षिणायन बारेमा केही चर्चा गरेको देखिएन ।
पं नयराज पन्तको लिच्छविसंवत्को निर्णयमा विषद्दिन बारेयसरी लेखेको छ
विषुवद्दिन भनेको दिन र रात बराबर हुने दिन हो ।आजभोलि कसैले वैशाख १ गते तथा कार्तिक १ गते दिन रात बराबर हुन्छन् भनी बोल्यो भने त्यसले उल्लूमा गनिनुपर्छ । त्यसै गरी श्रावण १ गते सबभन्दा लामोदिन हुन्छ तथा माघ १ गते सबभन्दा छोटोदिन हुन्छ भनी बोल्ने मानिस पनि उल्लू नै ठहरिन्छ। परन्तु ती संक्रान्तिको नामबाट त्यही अर्थ निस्कन्छ । यो कुरा भयो अहिले वि.सं २०३५ को ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १३७)
सवैभन्दा लामोदिन सूर्यदक्षिणायनको प्रारम्भ विन्दू श्रावण संक्रान्ति भनिने १ गतेको सट्टा अहिले आषाढ ७ मा भइ २४ दिन वर आइसक्यो । तस्तै,सवैभन्दा छोटो दिन सूर्य उत्तरायणको प्रारम्भविन्दू मकरसंक्रान्ति अर्थात् माघ १ गतेको सट्टा अहिले पौष ७ मा भइ २४ दिनफरक भइसक्यो । वर्तमानमा हामीले यसमा नसच्याउने हो भने अवको करिब ४३० वर्षमा पूरा एक महिना अयनांश फरक पर्छ र भविष्यमा धार्मिक पुण्यकार्य लगायत ज्योतिष विद्याकोअस्तित्व र धर्म दुवै संकटमा पर्नेछ ।
(पर्वसुधार राष्ट्रिय कार्यदल २०६३ को प्रतिवेदनबाट )
वर्षको लामो दिन र छोटो दिन भन्नु र उत्तरायण र दक्षिणायन भन्नु दुई पृथक विषय हुन् । किनभने जेठको पूर्णिमा(ज्यापुन्ही) सवभन्दा लामो दिन हो भने मंसिरको पूर्णिमा(योमरि पुन्ही) छोटो दिन हो । यो उत्तरायण र दक्षिणायनको मानक दिन होइन । उत्तरायण र दक्षिणायनको मानक दिन माघ १ गते र श्रावण १ गते हो । यसरी माघ १ गते र श्रावण १ गते उत्तरायण र दक्षिणायन भएको मान्दा गणितमा के समस्या पर्ने हो ? माघ १ को सट्टा पौष ७ गते हुनु पर्ने र श्रावण १ को सट्टा आषाढ ७ गर्नु पर्ने कारण सहित गणनाद्वारा सिद्ध गर्ने औकात पर्वसुधार कार्यदलले गर्न सकेको छैन । उनीहरुको प्रतिवेदनमा के आधार के प्रमाण र कसरी त्योकुरा सिद्ध भएको त्यसका चरणहरु केही पनि बताउन सकेको छैन ।केवल यदि यसलाई नसच्याउने हो भने अवको करिब ४३० वर्षमा पूरा एक महिना अयनांश फरक पर्छ र भविष्यमा धार्मिक पुण्यकार्य लगायत ज्योतिष विद्याको अस्तित्व र धर्म दुवै संकटमा पर्नेछ । जस्ता अमूर्त कुरा मात्र गरेका छ । फेरि कुनै पनि पुण्यकार्यको मापदण्ड के ?यो नापेर नाप्न सकिने कुरा हो होइन ? ज्योतिष विद्याको अस्तित्व र धर्ममा संकट पर्ने भनेको कस्तो ? त्यसको कुनै लेखा जोखा गरिएको छैन ।
आकाशमा नौलाख तारा छन् भनिएको छ यदि यो होइन भन्नेले आकाशको तारा गन्न जानु प¥यो । ल गनेर नै आएको हो भनियो भने विस्वास गर्ने आधार पनि लिएर आउनु पर्ने हुन्छ । सूर्य उत्तरायण माघ १ गते होइन पौष ७ गते हो भन्ने गणित गरेर देखाएको खण्डमा मूर्त कुरा आउने हुन्छ । पौष ७ र माघ १ को बीचमा २४ दिन फरक भनेर भन्दैमा पत्याउने आधार चाहियो, सिद्धान्त चाहियो । यदि माघ १ लाई मान्दा यो गणितमा यो मिलेन र पौष ७ गते मान्दा त्यही गणित यसरी मिल्यो भनेर देखाउने औकात पनि हुनु प¥यो । ती कुनै पनि छैन । पर्वसुधारका आधार नामक पुस्तिका र प्रतिवेदनमा त्यस्तो गणित कुनै कतै पनि दिन सकेको छैन ।
डा. पाण्डुरंग वामन काणेको धर्मशास्त्रका इतिहासमा दिइए अनुसार जनवरी १४ तारिखलाई प्राचीन मान्यता अनुसार उत्तरायण शुरु हुने दिन भनेर दिइएका छन् । यसको अर्थ माघ १ गते नै सूर्य उत्तरायण शुरु हुने हो र साउन १ गते सूर्य दक्षिणायन शुरु हुने हो । एक वर्ष भित्र ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने हुनाले ३६५ दिनलाई १८३ दिन उत्तरायण र १८२ दिन दक्षिणायन हुने मान्यता अनुसार साउनेसंक्रान्ति र माघेसंक्रान्तिलाई वैज्ञानिक तथा प्राचीन विद्वानहरुले मानेको यो मान्यतालाई मूर्त रुपले गणितद्वारा खण्डन गर्न सकेको बिल्कूलै होइन । बकम्फुसे गफको भरमा २४ दिन वर आइसकेको कुरा प्रत्याभूत हुने कुरा बिल्कुल होइन । यस्तो कुरा बिना गणित कोही पत्याउनेवाला हुँदैन ।
पञ्चसिद्धान्तिकामा वर्षको १२ वटा संक्रान्तिलाई चार श्रेणिमा विभाजन गरिएका छन् । ती मध्ये दुई वटा संक्रान्तिलाई अयन संक्रान्ति भनिएका छन् । यी दुई अयन संक्रान्तिमा एक मकर संक्रान्ति र अर्को कर्कट संक्रान्ति हुन् । मकर संक्रान्तिमा सूर्य उत्तरायण हुन आरम्भ हुन्छ भने कर्कट संक्रान्तिमा सूर्य दक्षिणायन हुन आरम्भ हुन्छ ।अर्को दुई संक्रान्तिलाई विषुव संक्रान्ति भनिएका छन् । यो विषुव संक्रान्ति भनेको पहिलो मेष संक्रान्ति र अर्को तुला संक्रान्ति हो । यी दुइ विषुव संक्रान्तिमा रात र दिन बरावर हुन्छ । यी बाहेक षडशीतिमुख संक्रान्ति भनेको मिथुन कन्या धनु मीन हुन् भने वृष सिंह वृश्चिक र कुम्भलाई विष्णुपदी संक्रान्ति भनेका छन् । दिन लामो चाहीं जेष्ठ पूर्णिमा र रात लामो चाही मंसिर पूर्णिमा मान्दा कहीं कतै ठेस लाग्ने भन्ने महसूस कसैलाई भएको छैन । यो पनि गलत छन् भनेर सिद्ध गर्न गणित द्वारा खण्डन गर्न सकेको पनि छैन । त्यत्तिकै २४ दिन वर आइ सक्यो भनेर अमूर्त कुरा गरेर पार लाग्ने कुरा होइन । यसरी २४ दिन वर स¥यो भनेर विश्वास गर्नेहरुले सर्व प्रथम पंचसिद्धान्तिकामा दिइएको शास्त्र सम्मत कुरा गलत छ भनेर नै पहिले खण्डन गरेर नयाँ सिद्धान्त प्रतिपादन गर्नसकेको हुनु पर्यो अन्यथा त्यत्तिकै हावाकोभरमा पत्याउन मिल्ने कुरा होइन ।
२४ दिनवर या परसरेको कुराको कारक तत्व
पृथ्वीले सूर्यलाई एक फन्को परिक्रमा गर्न १ वर्ष लाग्छ । यो एक वर्ष भनेको ट्वाक्क ३६५ दिन मात्र होइन । ३६५को दशमलव भन्दा पछिको समय हरेक सिद्धान्तको आआफनै छन् । जस्तै ः सूर्यसिद्धान्त, आर्यसिद्धान्त र ब्रम्हसिद्धान्तको फरक फरक छन् । कसैले भन्छ सूर्यसिद्धान्त ठीक अरु गलत, त्यस्तै कसैले आर्य त कसैले ब्रम्हसिद्धान्त ठीक अरु गलत भन्ने होला । त्यस्तै गरि वासन्तिक विषुवको अनुसार ३६५ दिन १४ घडि ३१.९७२ पला छन् भन्छन् भने नाक्षत्र वर्षमा ३६५ दिन १५ घडि २२पला ५३ विपला छन् । यही घडी पला हेरेर वासन्तिक विषुव को विन्दु भन्दा २३ अंश बढी भयो । यही २३ अंशलाई नै अयनांश भनिएको हुनुपर्छ भनेर अड्कल गरेको पनि हुनसक्छ । जेहोस् गणनाको विधिले बुझाउनु पर्ने हुन्छ त्यत्तिकै भन्न पाइने होइन ।
जसरी सूर्यसिद्धान्तको वर्ष संग अरु ३६५ को दशमलव पछि को अंक फरक भने झैं जुलियन ग्रेगोरियन र ई १७५१को ब्रिटेनको संशोधनमा पनि फरक छ । तात्कालिक वैज्ञानिकहरुले गणना गर्दा एकसौर वर्षमा ३६५.२४२२१८ दिन हुन्छ भनी हिसाव निकाले । तद्नुसार दिन घण्टाको हिसावले भन्नु पर्दा ३६५ दिन ५घण्टा ४८ मिनेट ४७ सेकेण्ड करिव हुन आउंछ भनेर पनि हिसाव निकाले । यो हिसाव संग जुलियन ग्रगोरियनमात्र होइन सूर्यसिद्धान्त, वासन्तिक विषुव नाक्षत्र वर्ष ती सवै संग ३६५ दिन सवैको उही हो दशमलव भन्दा पछाडिको अंक भने सवैको आफनोआफ्नो अंक फरक छन् । पछिल्लो संशोधन यही भएकोले यसैलाई आधिकारिक मान्नु परेको हो अर्को यसमा विकल्प छैन ।
साधारणतः १ सौर वर्ष भनेर ३६५ दिनलाई लिने गरेको छ । अतः ३६५ दिनको एक वर्ष भनेर साधारण वर्षको रुपमा लिइन्छ । तर एक सौर वर्षमा ३६५.२५ दिन हुने हुनाले चारवर्ष पूरा भएपछि ०.२५ गुणा ४ गर्दा पूरा १ दिन हुन आउने भएकोले हरेक ४ वर्षमा ३६५.२५ह्४ गर्दा ३६६ दिन हुन आउंछ ।
इसापूर्व ४६ मा रोमका जुलियस सिजरले हरेक चारचारवर्षमा १ दिन थपेर ३६६ दिन भएकोवर्ष मान्ने नियम वसाले । किन्तु यसले पनि गणित ठीक जँचिन आएन । त्यसकारण ई १५८२ मा रोमको धर्म गुरु पोपग्रेगरी १३ औंले वासन्तिक विषुव २१ मार्च होइन १० मार्च हुनु पर्ने ठहराएर ४ अक्टुवर को उपरान्त १० दिन धकेलेर १५ अक्टुवर बनाएर संशोधन गरे ।साथै प्रत्येक ४०० वर्षमा ३ दिन घटाउने नियम बसाले । त्यसरी ४ ले भाग गर्दा भाग शेष रहेन भने परिवत्सर वा दीर्घ वर्ष हुने मात्र होइन अपितु यदि वर्षको संख्यामा पछिल्तिर दुई वटा शून्य भएमा ४०० ले पनि भाग लाग्ने हुनुपर्छ भनी नियम बसाले । यसरी ४००ले भाग गर्दा पनि शेष आएन भने मात्र परिवत्सर वा दीर्घ वर्ष वा लिपयर भनेर मान्नु पर्छ अन्यथा होइन भनेर निर्णय गरिएको अंग्रेजी क्यालेण्डरलाई ग्रेगोरियन भनिएको हो । यसरी ग्रेगोरियन आविष्कार भए पछि जुलियनको कुनै अस्तित्व रहेन ।
जुलियस सिजरको नियम अनुसार इस्वीसन २०००, २१००,२२००,२३०० आदि लाई ४ ले भाग गर्दा सबैमा निशेष आउंछ तर ४०० ले भाग जाने केवल २००० मात्र हुन्छ । त्यसकारण ४०० ले समेत भाग जाने मात्र लिपयर हुने अरु सवै साधारण वर्ष नै ठहरिने भएकोले त्यहाँ उप्रान्त ग्रेगोरियन क्यालेण्डर अनुसारको हिसाव लागु भएको हो । यस हिसावले प्रत्येक ४०० वर्षमा ३ दिन घटेको हुनाले प्रत्येक ४०० वर्षमा ९७ वटा लिपयर मात्र हुनेभयो । यदि जुलियस सिजरको अनुसार गएको भए ४ वर्षमा १ लिपयर हुने १०० वर्षमा २५ लिपयर हुने र ४०० वर्षमा १०० लिपयर हुन आउने हुनुपर्दथ्यो । यसरी जुलियन क्यालेण्डर बिस्थापित भएर ग्रेगोरियन क्यालेण्डर लागुहुन गएको हो ।
त्यही ग्रेगोरियन क्यालेण्डर पनि विश्वका थुप्रै देश मध्ये क्याथोलिकले अपनाए तापनि ब्रिटेन लगायत अरु कतिपय प्रोटस्टेण्टहरुले भने मानेका थिएनन् । किनभने प्रत्येक ४०० वर्षमा ०.११२८ दिन जुन बढी हुन जाने थियो त्यसलाई ख्याल गरिएन भन्ने वैज्ञानिकहरुले आपत्ति जनाएकोले गर्दा ग्रेगोरियन क्यालेण्डरमा असहमत नै जारी रहे । आधुनिक ज्योतिष शास्त्रको गणना भन्दा ग्रेगोरियन वर्ष २६ सेकेण्डले बढी देखियो भन्ने ठहराए । ई १७५०सम्म पनि ब्रिटेनका सुधारवादी प्रोटेष्टेण्टहरुले पोप ग्रेगारीको सुधारलाई ठाडै इन्कार गर्दै आए । त्यतिवेला कानून नै बनाई २ सेप्टेम्वर उपरान्त १४ सेप्टेम्वर मानेर फेरि ११ दिन छोडेर क्यालेण्डर बन्यो । यो क्यालेण्डर न त जुलियन थिए न त ग्रेगोरियन थिए । यसमा जनवरी देखि जून सम्म ६ महिना मा १८१(१८२) दिन र जुलाई देखि डिसेम्वर सम्म ६ महिना १८४ दिन हुने निश्चित गरे ।यो आधुनिक सिद्धान्त अन्तर्गत सूर्य उत्तरायण जनवरी १४ या १५ पर्न आउने हो भने ग्रेगोरियन सिद्धान्तले मात्र २१।२२ डिसेम्वर लाई उत्तरायणको आरम्भ दिन देखिने गरेको हो । अहिले आधुनिक सिद्धान्त आइसकेपछि ग्रेगोरियन अनुसार २१ डिसेम्वर नै उत्तरायण हुने हो भनी जिद्दी गरी आउनुको कुनै औचित्य छैन । ग्रेगोरियन सिद्धान्त अनुसार गणना गर्दा मिनेट सेकेण्ड समेत हिसाव गरेर डिसेम्वर २१ को दिन यति वजेर यति मिनेट जाँदा सूर्य उत्तरायणमा सर्ने भनेर दिइएको देखिए तापनि त्यसको कुनै अर्थ छैन । यसरी यथार्थमा सूर्य उत्तरायण जनवरी १४ या १५ हुने र ग्रेगारियन अनुसार डिसेम्वर २१ र २२ भनिएको बीच २४ दिनको फरक देखिएकोले २४ दिन पर सर्यो भनेको हुनुपर्दछ । यसलाई खगोलगत गणित द्वारा पाश्चात्य विद्वानहरुले पनि गणना सकेका होइन र यहाँ स्वदेशका खगोलविद्ले पनि सकेको होइन । वास्तवमा यो समस्या हाम्रो होइन र हामीले टाउको दुखाउनु पर्ने विषय पनि होइन । यो नितान्त पाश्चात्य जगतमा जुलियन,ग्रेगोरियन र इस्वी १७५० पछिको संशोधन नै मुख्य कारक हो । अहिले पर्वसुधार कार्यदल भनेर जुन गठन गरी एक महिना घटाउने उद्योगमा लागिपरेका छन् ।यसको कुनै भविष्य छैन ।
निष्कर्ष
हाम्रो मान्यता हाम्रो रीतिरिवाज परम्पराले जेष्ठ महिनाको पूर्णिमा ज्यापुन्हीमा वर्षको सबभन्दा लामो दिन र मंसिर महिनाको पूर्णिमा योमरिपुन्हीको दिनवर्षको सबभन्दा छोटो दिन मान्ने चलन छ र विश्वास पनि यही छ । कसैले यो विश्वास गरियो भने तँ उल्लू मा कहलिएलास् भनियो भन्दैमा आफनो मान्यता फेर्नु पर्ने जरुरी छैन । त्यस्तै गरी माघ संक्रान्तिदेखि सूर्यउत्तरायण र कर्कट संक्रान्ति देखि सूर्य दक्षिणायन भन्दैआएका छौं यो पनि कोही आएर तँ उल्लूमा गनिनु पर्ला है भन्नआए भनेपनि आफनोमान्यता फेर्नु पर्ने जरुरी छैन । फेरि हाम्रा तमाम ज्योतिष शास्त्रले यही भन्द ैआएका छन् । शास्त्र सम्मत मान्यतामा विश्वास गर्दै गर्दा कोही उल्लूमा गनिनु पर्ने होइन । त्यस्तै गरी पृथ्वी र चन्द्रमा मात्र चलायमान हुने होइन सूर्य पनि चलायमान छ भन्ने कुरा शास्त्रले भनी रहेकै छ । त्यो कुरामा विश्वास गर्दा दुनियाँ हाँस्ला है । त्यस्तो हूल्याइमा हामी जानु परेको पनि छैन । कुरो आयो २४ दिन परसरेको कुरा हाम्रो ज्यापुन्हीको दिन जुलियन ग्रेगोरियनको तारिख जतिसुकै पर्न जावस् हामीलाई त्यसमा केही सरोकारै छैन । हाम्रो योमरिपुन्हीकोदिन जुलियन ग्रेगोरियनको तारिख जुनसुकै पर्न जावस् त्यसमा पनि हाम्रो केही सरोकारै छैन । त्यस्तै गरी हाम्रो माघे संक्रान्ति र कर्कट संक्रान्तिमा सूर्यउत्तरायण र दक्षिणायन हुने कुरा तारिखमा जतिसुकै परोस् हामीलाई कुनै सरोकारै छैन । जुलियन ग्रेगोरियन मान्नेहरुले २१।२२ डिसेम्वरमा उनीहरुले उत्तरायण हुने भनेर मानेकोमा हाम्रो माघेसंक्रान्ति अहिले उनीहरुको जनवरी १४ या १५ पर्न आयो भनेर हाम्रो हिसाव नमिलेको होइन उनीहरुको हिसाव नमिलेकोमा हाम्रो टाउको दुखाइ गर्नु जरुरी छैन । किनभने डिसेम्वर २२ पनि उनीहरु कै हो र जनवरी १४ पनि उनीहरु कै हो ।यी दुइ तारिखको बीचमा २४ दिन फरक पर्दा उनीहरुको टाउको दुखाइ मात्र हो । त्यसमा हाम्रो टाउको दुखाइ होइन । यसमा बृथामा पर्वसुधारका कार्यदलले टाउको दुखाइ गरेर एकमहिना घटाएर क्यालेण्डर बनाएर जानमा जोड लगाइ आएका छन् । यसमा हामी सतर्क हुँदै जाऔं । हामी शास्त्रसम्मत कुरालाई अवलम्वन गर्दै जाँदा कसैले उल्लु भन्ला वा कसैले मूर्ख भन्ला वा दुनियाँ हाँसेर उपद्र होला भनी चिन्ता गर्नु जरुरी छैन ।








