
कथालाई यसैगरी लेखिनुपर्छ भन्ने छैन । तर, कथामा चित्रण गरिएको एउटा चोटिलो घटना अवश्य हुनुपर्छ :
कथाकार दिनमान गुर्मछान
(कथाकार दिनमान गुर्मछान पेशाले स्वास्थ्यकर्मी हुन् । उनी साहित्यलाई पनि आफ्नो कर्म हो भन्ने मान्यता राख्छन् । सर्लाहीमा जन्मेका दिनमान काभ्रेलाई कर्मथलो बनाएर बसेका छन् । नेपाली आख्यानमा कथा विधामा वर्तमान समयका चर्चित कथाकार आफ्ना कथाहरुमा परिवेश र पात्रहरुलाई नजिकबाट गमेर कथानकता बुनोट गर्न सिपालु छन् । यो नै उनको कथामा छुट्टै पहिचान र विशेषता हो । उनको व्यस्त जागीरे जीवनका बीचमा पनि नेपाली साहित्यमा सक्रिय उपस्थिति अरुको निम्ति लोभलाग्दो देखिन्छ । चर्चित “दंश” कथासंग्रहका स्रष्टा उनका थुप्रै फुटकर कथाहरु पनि प्रकाशित छन् । उनी समीक्षामा पनि जमेका छन् ।गजल,कविता, निबन्ध र बालसाहित्यमा समेत उनको कलम चलेको देखिन्छ । हालसम्म उनका ‘भो गजल लेख्दिन म’, गजलसंग्रह,’मिस्टर चुलबुले’ बालकथासंग्रह र ‘दंश’ कथासंग्रह प्रकाशित भैसकेका छन् । विभिन्न साहित्यिक संघसंस्थाहरुमा समेत उनको क्रियाशिलता देखिन्छ । उनको सम्पादनमा ‘भाले बास्यो’ बालकथासंग्रह प्रकाशित भएको छ । यस्तै विगतमा उनले अकाल कुसुम,ज्योतिष्मति लगायतका साहित्यिक पत्रिकाहरुको सम्पादन समेत गरेका छन् ।
नेपाली साहित्य,कथा लगायत उनका लेखनीका विभिन्न सन्दर्भहरुको बारेमा कथाकार दिनमान गुर्मछानसँग इखबर नेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गर्नुभएको कुराकानी )
१) तपाईंको लेखनीको प्रारम्भको बारेमा छोटो जानकारी दिनुस् न ?
साहित्य लेखनको प्रारम्भबारे सोध्नु भएजस्तो लाग्यो । मानिसको स्वभाव नै प्रकृतिसँग रमाउने किसिमको हुन्छ । खोटाङ्ग जिल्लामा २०५६ सालतिर जागिर खान गएको बेला प्रकृतिसँग रमाउने क्रममा साहित्यप्रति आकर्षण बढ्न गयो । त्यतिबेला गीत, गजलले खुब तानेको थियो । कहिलेकाही कविता पनि कोर्थें । मधुपर्क, गरिमाको अध्ययनसँगै साहित्यिक कृतिहरु पढ्न थालियो अनि लेख्न । त्यतिबेला दिनहुँजसो केही न केही लेखिरहन्थेँ । निरन्तर साधनाले लेखनलाई तिखार्दै लग्दो रहेछ । यो निरन्तरता र साधनाले यहाँसम्म आएँ ।
२) तपाईं मुलत: कथाकार हुनुहुन्छ । कथा लेखनीमा तपाईंको प्रवेश कसरी भयो ?
कथा लेखनको साधनालाई निरन्तरता दिइरहेकै छु । यस हिसाबले सायद कथा मेरो मूल विधा बनेको छ । सुरुवाती दिनहरुमा गीत, गजल, कविता लेखिन्थ्यो । काव्यमा मैले धेरै कुराहरु दिन सकिनँ । यो कमीलाई मैले कथाबाट पूरा गर्न सक्छु जस्तो लागेर कथा लेखियो । रामेछाप जिल्लामा जागिरको सिलसिलामा जाँदा त्यहाँ कर्मचारी मिलन केन्द्रले वार्षिक मुखपत्र भनेर पत्रिका छाप्ने र उक्त पत्रिकाको लागि रचना आह्वान गरिएको थियो । एकदिन मेरी श्रीमतीले ‘तपाईं किन कथा लेख्नुहुन्न’ भनेर प्रश्न गरेकी थिइन् । उनको त्यही कुराले मलाई छोएको थियो र कुनै दिन म कथा लेख्छु भनेर योजना बनाउँदै थिएँ । मौका यही हो भनेर मैले एउटा कथा लेखेँ । कर्मचारीको सरुवाको विषयमा कथा थियो त्यो, जुन कर्मचारी मिलन केन्द्र रामेछापको मुखपत्रमा छापियो । त्यसपछि मलाई के लाग्यो भने अब मैले कथा लेख्नैपर्छ र कथा लेखनलाई निरन्तरता दिइरहेको छु ।
३) कथा पाठकहरुको रुचिको विधा हो । पाठकहरु कथा पढ्न सजिलो मान्छन् । तपाईंको विचारमा के भयो भने एउटा सुन्दर कथा बन्छ ?
कथा पाठकलाई सुहाउँदो सरस, सरल एवं चित्ताकर्षक भावमा लेखिएको एउटा चोटिलो घटनाक्रम भएको हुनु आवश्यक छ । हुन त हिजोआज कथा लेखनको स्वभाव परिवर्तन भएको छ । कथालाई यसैगरी लेखिनुपर्छ भन्ने छैन । तर, कथामा चित्रण गरिएको एउटा चोटिलो घटना अवश्य हुनुपर्छ । जसले पाठकको मस्तिष्कलाई तानोस् वा भनौँ एक किसिमको सोच्नै नसकिने तरंग पैदा गरिदियोस् । चेखब, ओ हेनरी जस्ता कथाकारको कथा पढ्दा थाहा हुन्छ कथा के हो । छोटा होस् वा लामा कथाले पाठकलाई अल्छी नलाग्ने बनाएर तान्नुपर्छ ।
४) तपाईंको केही पहिले ‘दंश’ कथासंग्रह प्रकाशित भएको थियो । केही समय ‘दंश’ को चर्चा भएको थियो । सायद यसले तपाईंलाई चिनाएको हुनुपर्छ । ‘दंश’ बारे केही भनिदिनुस् त ।
‘दंश’ कथासंग्रह मेरो पहिलो कथासंग्रह हो । ‘दंश’ को प्रकाशन ताका यसले केही समय चाहिँ चर्चा बटुलेकै हो । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुमा समीक्षा पनि प्रकाशित भयो । पाठकहरुको माया र सुझावहरु बटुल्न सफल भयो । दंशको सफलताले कथा लेखनमा अझैं हौसला थपियो ।
दंशभित्र लामाछोटा गरी जम्मा १८ कथाहरु छन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक तवरबाट कथानकता सहितको नविनतम घटनाक्रमहरु छन् । विशेषगरी नेपाली जनजीवनलाई उनीहरुकै यथार्थताको धरातलबाट चित्रण गरिएको छ । जसलेगर्दा होला पाठकहरुले दंश कथासंग्रह निकै नै रुचाइदिए । बजारमा हाल दंश कथासंग्रह सकिएको छ । पाठकहरुको मागलाई ध्यानमा राखेर यो पुनः प्रकाशन गर्नुपर्ने हो । तर, यसको प्रकाशनगृह बन्द भएकोले पुनः प्रकाशनको चाजोपाजो मिलेको छैन । आशा गरौँ चाडैँ नै पुनः प्रकाशन हुनेछ ।
५) तपाईं पछिल्ला दिनहरुमा कथा साहित्यमै निरन्तर लागिरहनु भएको छ । यस हिसाबले तपाईंलाई कथाकारको रुपमा पाठकहरुले चिनिसके । अझैं पनि कथा नै सिर्जना गरिरहनु भएको छ । अब उपन्यास लेख्ने बेला भएन र ? नयाँ के लेखिरहनु भएको छ ?
मैले देखेका, भोगेका र सुनेका धेरैजसो घटनाहरुले मलाई जब तान्छ त्यतिबेला मलाई त्यो घटनासँग सम्बन्धित भएर कथा बुन्न घचघचाइरहन्छ । हाम्रो वरिपरि घटेका घटनाहरुलाई कथानकता सहित पाठकहरुमाझ पस्कन मभित्र एककिसिमको रुचि छ । जसलेगर्दा ती घटनालाई कथामा राम्रोसँग उतार्न सकिन्छकि भन्ने अभिप्रायले पनि म कथा नै लेख्छु । अझ, मलाई के लाग्छ भने नेपाली कथामा कौतुहलताको छनक दिनका लागि लेखिएका मेरा कथाहरुले पाठकलाई केही हदसम्म भएपनि नयाँपन दिनसक्छ भन्ने लागेर पनि कथा लेख्छु ।
उपन्यासको बजार राम्रो छ । त्यसैले उपन्यास नै लेख्नेबेला भयो भन्ने मलाई लाग्दैन । उपन्यासका लागि विषयको छनोट र समय आएपछि अवश्य पनि लेख्नेनै छु ।
तपाईंको प्रश्नमै छ म एक कथाकार,त्यसैले हाल पनि म कथा नै लेखिरहेको छु ।
६) वर्तमान नेपाली कथाको अवस्था कस्तो छ ? र, वर्तमान नेपाली कथाको मुल प्रवृत्ति के हो ?
नेपाली कथाको वर्तमान अवस्था निकै कमजोर देखिएको छ । अघिल्लो पुस्ताले कथामा दिइसकेका विषयबस्तु र प्रवृत्तिको पुनरावलोकन मात्र अहिले भइरहेको छ । नेपाली कथामा हिजो जसरी विपि कोइराला, मनुब्राजाकी, अविनाश श्रेष्ठको आगमन भएको थियो । त्यही रुपमा आजका पुस्ताको आगमन नभई उपस्थिति मात्र देखिएको छ । कथाका नाममा अकथा छापिएर ताली र स्याबासी बटुलिरहेको छ । यसले कथा र कथाकारको भविष्य राम्रो बन्दैन ।
नेपाली कथाले अझै पनि मौलिकता बोक्न सकेको छैन । कथामा प्रयोग भइरहेका छन् तर ती सब नक्कल गरिरहेझैं भएका छन् । नेपाली समाजका विभिन्न पाटाहरु छन् जसलाई कथामा उतार्न अझैं बाँकी नै छ ।
७) नेपाली साहित्यमा पठन संस्कृति घट्दो र लेखन संस्कृति बढ्दो छ भनिन्छ नि ! यसले के संकेत गर्छ ?
तपाईंको प्रश्नमा वास्तविकता छ । नेपाली साहित्यमा लेख्नेको संख्या दिनानुदिन बढिरहेको छ । हरेक दिन पुस्तकको प्रकाशन भइरहेकै छ । बजारमा केही न केही आइरहेकै छ । तर, पठन संस्कृति सिमित भइदिएको छ । यसलाई घट्दो नै चाहिँ भन्न नमिल्ला । उदेकलाग्दो चाहिँ के छ भने, लेखकहरु अरुका कृति, रचना नपढ्ने । आफ्नो चाहिँ सबैले पढिदिउँन् भनेर प्रचारवाजी गर्ने । उनै फेरि भन्छन्, नेपाली पुस्तक के पढ्नू, राम्रो केही भएपो । यसो भनिरहँदा उनको कृति चाहिँ पाठकले पढिदिनुपर्ने ? अब यसलाई कुन रुपमा हेर्नुहुन्छ ? हो यस्तै प्रवृतिले पठन संस्कृतिलाई अलमल बनाउनुको साथै धमिलो बनाइदिन्छ ।
८) अन्त्यमा, मैले सोध्न छुटाएको र तपाईंलाई भन्न मन लागेको केही भए..
तपाईंलाई धन्यवाद।








