
अनुरोध
रेजिना पाण्डे
साँझ घर फर्कंदा राधेश्यामले पिपलको बोटमुनी फुल दिदै मुसुक्क हाँस्यो । उसको प्रेम प्रस्ताव ठानेर म अलमल परे । केहिबेर आत्तिए । मौन पनि रहे ।
एक्कासी यो बहुलालाई के भयो कुनि चाहिने नचाहिने काम गर्छ मोरा भन्दै म एक्लै भुतभुताउन थालें । बहुलालाई पिट्न पनि भएन,कराउन पनि भएन । उल्टै
राधेश्याम पिपलको बोटमुनी खुटृा हल्याउदै बस्यो हाँस्दै रमाउदै । म अचम्म परें।
अनि रातोपिरो हुँदै आफनो बाटो लागें ।
कस्तो हावाको बेग हो यो । उमेरले डाँडा काटेको राधेश्यामले मलाई नै किन प्रेम प्रस्ताव राख्यो । उजेली,जुनेली पनि त थिए अनि राधा र परी पनि ।
यो पागलले मलाई नै किन फुल दियो ? यसले सबैको अगाडि मेरो कति बेईज्जत गरयो । म भोली त्यो बाटो कसोरी हिडुँ । के भन्ने हुन मान्छेहरुले ? के के सुन्न पर्ने हो । उसै त सानो कुरा पायो भने ठुलो कुरा बनाउछन मान्छेहरु मेरो साथी हरु उजेली जुनेली उसै त गफ दिन जान्दैन् । राधा र परि को त के कुरा गरौं भोलीदेखि उनीहरुको कुराको पोको म नै हुने भएँ ।
अव के भन्ने हो कुन्नी? यी दुई जतिखेर पनि अरुको काटेर बस्छन। भोलीदेखि त कुरा काट्ने बिषय म नै हुँला । उतिनैबेला उजेलीले भनिन् ‘राजकुमारसँग बिवाह गर्छु भन्थि । यो कुन देशको राजकुमार हो ?’ भन्दै खिसी गरी ।
उमेरले पाको भए पनि आफनो पाईन्टको बटनसम्म लगाउन नजान्ने । नाकभरी सिंगान लिएर हिड्छ बाँगो खुटृा लगाउँदै । कपाल चिलाउँदै हातभरी मैलो नङ जसले उसको सौन्दर्यता नै हराएको थियो । उ कहिल्यै सुन्दर पनि मैले देखेको थिइन । बोल्न नसक्ने पागल थियो । तर पनि एउटा आत्मियता मसँग थियो ।
तर राधेश्यामले पे्रम प्रस्ताव मलाई नै किन राख्यो ? म अचम्ममा परें र अनौठो मानें । उसले ईशाराले सम्बोधन गथ्र्याे मैलै कहिल्यै उसको ईशारा बुझिन । मलाई देखेर मख्ख पथ्र्याे । त्यो मैलै अनुमान गरेको पनि थिए उसलाई देखेर ।
हामी कामले ओहोर दोहोर गर्दा पिपलको चौतारमा हरेक दिन बस्थ्यौैं,खान्थ्यौं। म उसलाई पनि खान दिन्थें । मैले दिएको खानेकुराहरु रमाएर खान्थ्यो । बस यत्ति मात्र थियो उसको र मेरो सम्बन्ध ।
ईशाराले सम्बोधन गर्ने राधेश्यामले आज मलाई के देख्यो र फुल दिदै हाँस्यो पनि । प्रेम प्रस्ताव राख्यो । मैलै बुझ्न नै सकिन् ।
म घर जान्छु ,निःशब्द हुन्छु ,मेरो मनमा खैलाबैला हुन्छ । बाहिरको हावाको बेगले मेरो कोठा भित्रको सामानहरु एथल पुथल हुन्छ । हावाहुरीले बाहिरको धुलो उडाएर मेरो कोठाभित्र छिर्छ । म झ्याल बन्द गर्छु । चोयाको बेन्चमा पुस्तक लिएर पढन खोज्छु । दुईदिन पछि आउन लागेको लोकसेवाको परिक्षाको तयारीमा लाग्नपर्ने थियो ।
तर पुस्तकमा ध्यानै छैन । आज राधेश्यामले गरेको व्यवहारले मन खल्लो भएको थियो । मलाई ज्ञानी लाग्थ्यो । अनि भलादमी पनि । शारीरिक रुपले अपाङ्ग भएपनि म उसलाई माया गर्थें । सहानुभुती देखाउँथें ।
आज राधेश्यामले हदै गर्यो । सबै साथीभाईहरुको बीचमा पे्रम प्रस्ताव राख्यो । सबै हाँसे । मेरो मन खिन्न भयो ।
गिलासको पानी पिउँछु । मलाई केही गर्न मन लागेको छैन् । न पढन्,न खान् । न निद्रा छ । म बिचलित भएर यताउता गर्छु ।
आमा कराउँदैछिन् ‘खाना खान आईज’ भनेर बार बार कराईरहेकी छिन् । मेरो मनपर्ने तरकारी काउली पकाएकी थिइन आमाले । तर पनि आज मन लागेको छैन् खान । आमाले मेरो खाना कोठामा ल्याईदिइन् ।
म आफनै कोठाभित्र यताउति गर्छु पुनः झ्याल खोल्छु । बाहिर अलि शान्त भएको रहेछ बातावरण । अघिसम्म अध्याँरो भएको आकाश खुलेछ । तर केही छिन अघि आएको हावाको बेगले सबै पातहरु भरेर बाटो त फोहोर देखिएको छ । तर पनि बाहिरको सफा आकाश देख्दा मन हलुका भयो ।
मेरो भित्री मन भने अझै बेचैन छ । म अन्योलमा छु । राधेश्यामले के गरेको होला भनेर मनमा खेलिरहेछन् । त्यति परिपक्व मान्छे पनि होईन । त्यति समझदार पनि छैन । शारीरिक रुपमा अशक्त र कमजोर मान्छे । ‘पागल मान्छे’ सबैबाट उसले पाएको उपाधी यो ।
मुसुक्क हाँसेर त्यो पिपलको बोटमुनी मलाई स्वागत गथ्र्याे आउँदा र जाँदा । मलाई देखेर त्यसै त्यसै मख्ख परेको आभाष पाउँथे म । तर के थाहा उसको सोच्ने शक्ति र सामाथ्र्य यति होला भनेर ।
मैले त उसलाई कहिल्यै त्यो नजरले हेरेको थिइन। तर उसले मलाई नै किन पे्रम प्रस्ताव राख्यो? मेरा मनमा धैरै प्रश्नहरु थिए । अनेकौे उत्तरहरु खोजिरहेको थिए तिनले पनि मसँग ।
उसलाई रिसले किन झापड हान्न सकिन्, मलाई पछुतो भईरहेको थियो । सायद उसलाई मैलै उति नै खेर दुुई झापड हिर्काएको भए भोली यसले मलाई केही गदैन् थियो होला ।
मेरो मनमा उसलाई भेटेर प्रश्नहरु सोध्ने इच्छाका चाङ थिए । त्यही इच्छाहरु लिएर म खाटमा आड लगाउछु । बिहानीको पखाईमा हुन्छु । एकाबिहानै म सधंभन्दा चाँडो पिपलको बोटमा पुग्छु । कति बेला राधेश्याम आउला म पर्खिरहेको हुन्छु । त्यस दिन आएन । म निराश भएर घर फर्कन्छु । भोली त आईहाल्छ होला भन्दै सुस्केरा हाल्छु । म सलाई भेटेर उत्तर पाउने आशामा छु । हप्ता दिन भई सक्यो उसलाई पिपलको बोटमा कुरेको पनि । तर आएन । उसको घर कहाँ थियो मलाई थाहा नै थिएन । सायद डरले नआएको पनि होला ।
महिनांैदेखि उसलाई त्यही पिपलको बोटमा भेटेको हुँ । देखेको हुँ । हामी साथी भाईहरु भेट हुँदा त्यही पिपलको बोटमुनि बसेर सुन्तला बदाम खाने गर्दथ्यौं । त्यहिं नै मैले उसलाई देखेको थिएँ । म उसलाई खान दिन्थें । म पिपलको बोटमा बस्दा उ रमाउँथ्यो । अझैपनि मलाई याद छ ।
मसँग उजेली र जुनेली हँदा पनि मलाई हेरीरहन्थ्यो । मसँग घोरिइरहन्थ्यो ।
उसँग मेरो कुनै नाता थिएन । म आज सम्झन्छु म उसँग बोल्दा खुशी हुन्थ्यो । रमाउँथ्यो । उसको बाहुलाले आफनो नाक सफा गथ्र्यो । हात खुटृाहरु मैला थिए । सधै कपडा फोहार हुन्थ्यो । कपालमा चायाँ चायाँ थिए । सबैको घृणाको पात्र थियो ।
तर म उसको आखाँमा देख्थें माया खोजिरहेको छ । सबैलाई आफ्नो भन्न खोजिरहेको छ ।
स्नेही स्वभावको राधेश्याम किन किन मलाई पनि मन पथ्र्याे । एक दिन त मैले आमाले बनाएको बेसनको लड्डु उसलाई दिएको थिएँ । यति विध्न खुशी भएको थियो कि कुनै सीमाना नै थिएन । म पिपलको बोटमुनी बसेर उसका हरेक कुराहरु सम्झीरहेको छु आज ।
मलाई कहिल्यै दुःख दिएन् । राधेश्यामले मलाई लखेट्थ्यो, ढुँगाले हिकायो भन्छन् धैरैले । यो बहुलाले कति सताएको भन्दै हिड्छन मान्छेहरु । तर उसले मलाई कहिल्य केहि गरेन । उसले गरेको पे्रम प्रस्तावले मात्र अचम्ममा परेका ेहँु । हप्तौं भईसक्यो ।उसलाई मैलै भेटेको छैन्। बिना बिच सडकमा ठडिएको पिपल खल्लो र अधुरो लाग्छ मलाई आज । खै किन हो खै ।
हात्तिछाप मोटो चप्पल लगाएर पिपलमा घुमिरहेको हुन्थ्यो । शनिबार भक्तहरुले पिपललाई पुजा गरेको प्रसाद हातमा लिएर रमाउँदथ्यो । कतिचोटी देखेको थिएँ आज महिनौ हुन लागिसक्यो उसलाई यो पिपलको बोटमा नदेखेको । म आफनो काममा व्यस्त रहेपनि आउँदा जाँदा त्यो पिपलको बोट मुनी राधेश्याम छ कि भनेर फर्कि फर्कि हेर्ने गर्छु म ।
मैलै उसको जवाफ पाउन सकेको थिइन । उसलाई भेट्छु अनि जवाफ खोज्छुु भन्दै उसको बाटो हेर्थे । किन हो खै आजकल मलाई उसको प्रतिक्षा गर्ने बानी परीसकेको छ ।
एक दिन साँझ एक बृद्ध बाले काली भन्दै मलाई एउटा पत्र दिए ।
म अचम्ममा परें ।
‘तपाई को हो ?’
‘रविको बाबा ।’
‘को रवि ?’
म झस्किएँ ।
‘यो पिपलको बोटमा बस्ने पागल राधेश्यामको बाबा । उसलाई यहाँ राधे श्याम भनेर चिन्छन् ।’
‘राधेश्याम खोई त ?’
‘अव आउदैन यो पत्र उसको अनुरोधमा तिमीलाई ल्याईदिएको ।’
हो त नाम राधेश्याम मैलै नै राखिदिएकी थिँए । सबैले पागल पागल भनेका थिए । यो शव्द मलाई मन नपरेर मैले राधेश्याम भनेर बोलाएँ । त्यसपछि सबैले राधेश्याम भन्न थालेका हुन् ।
मैले पुन कुनै प्रश्न नगरि बृद्ध मान्छेले दिएको चिठी लिए घरमा आएँ । टेवुलमा राखें । चिया बनाएर कोठामा छिरे । मलाई त्यो चिठी खोल्ने बडो हतारो थियो ।
चिठिभित्र लेखिएको थियो :
मेरो प्यारो दिदी म बोल्न सक्दिन मैलै दिएको फुललाई के सम्झनु भयो थाहा छैन मलाई । तपाईलाई फुल दिन म घरको झ्यालबाट भागेर आएको हुँ । अव म तपाईलाई भेट्न सक्दिन् । मेरो अन्तिम भेट थियो तपाईसँग ।
म पागल हुँ र मसँग सबैजना डराए । अव मलाई घर भित्रै कैद गरिनेछ । मैले सबैलाई दुःख दिएँ रे। यो पागललाई लगाम लगाएर राख भने सबै आफन्तहरुले ,बिचरा मेरो बृद्ध भएको बाबा आमाले के गरु्न ।
मलाई अव एउटा कोठा भित्र थुनेर राख्नेछन् । कोहि मसँग भेट्दैनन् । अव मलाई मेरो आफनै दिदीहरुले बन्देज गरेर राख्नेछन् । उनीहरुलाई बेइज्जत भयो रे । भाइ यस्तो भएर काकाकाकीलाई लाज लाग्यो रे । सडकमा भान्जा भान्जिलाई म देखेपछि लुकेर हिडन पर्र्यो रे । सबैलाई म सँग बोल्न भेट्न लाज लाग्छ रे । अब मेरो स्वतन्त्रता बन्द गरिनेछ ।
तर तिमी पराई भएपनि मसँग खुलेर रमायौ । मैले मेरो स्वतन्त्र जीवन चाहेको थिएँ तर परिवारले मलाई आजाद हुन दिएन् झन् समाजले कहाँ दिन्थ्यो र ।
तिमी एक जना त्यस्तो मेरी दिदी हौ, जसले मलाई नडराई बोलायौ । मलाई खान दियौ । मसँग खुशी भयौ ।
अव म एउटा अध्याँरो कोठाभित्र हुनेछु । तिमीलाई म कहिल्यै भेट्ने छैन । तिमीले मलाई दिएको यो सुन्दर नाम म कहिल्यै भुल्नेछैन् । म पागल राधेश्यामलाई कहिल्यै नबिर्सनु ल ।
-उही पागल राधेश्याम।
यस्तो व्यहोराको पत्र रहेछ ।
उसले मन्दिरको फुल शीरमा लगाउ भनेर दिएको थियो । तर मेरो अर्थहिन सोचहरुले मलाई लज्जित बनायो आज । बर्षाैं भईसक्यो उसलाई नभेटेको पनि । म त्यो पिपलको बोटमुनी सधै एकछिन बसेर उसलाई सम्झन्छु ।







