कविता
आवेग र संयोगको
अनन्त पीडा पछि
जन्मिएकी हुँ
म यस धर्तीको माटोमा ।
लम्बे अभियानमा
अनुभुत गरेका कयौं भोगाइहरु
पाच्य र अपाच्य विवेकहरु
पूरा नभएका चाहनाहरु
धमिलिएका सयौं सपनाहरू ।
बुझ्दैछु खै कसरी कसरी तय भएको छ
डरलाग्दो रहस्यको घनिभुत यात्रा!
आँसु र रगतबाट सिन्चित भएर लपेटिदै
पुछिदै र फक्रदै यहाँसम्म ।
हुन त,
जिन्दगी रहस्यहरुको अनावरण हो
हो त्यही जिन्दगी भित्रको जिन्दगीको –
एक पात्र म
म जस्तै हजारौं पात्रहरुलाई – नयाँ जिन्दगी दिन
कायरहरुको भिडमा – वीर योद्धा बनेर
मुटुलाई समेत दाउमा राखेर
होमिएको हुँ संघर्षको भट्टीमा ।
पहिलो पटक आँखा खोलेदेखि
देखेको हुँ यो धर्तीलाई- उतिकै सुन्दर
तर भक्षकहरुले मलाई जस्तै – निर्वस्त्र पारेर
तिम्रो पनि अस्मिता लुट्छन्
र, प्रशारण गर्छन् – अस्मिता जोगायौं भनेर।
यही प्रश्नले औला उठाउँछु बारम्बार
यो अदितिय भूमि र हामी जस्ता छोरीहरु
चिथोरेर ,
टोकेर र बलात्कार गरेको कसले हो ?