
अर्धकदको अवसान
निबन्ध,नियात्रा,कला लगायतका क्षेत्रमा अत्यन्तै क्रियाशिल स्रष्टा हुन् ज्ञानेन्द्र विवश । भन्न खोजेका कुराहरु कलात्मक जलप लगाएर पोख्न सक्ने खुवी छ उनमा ।
यस्तै विषयगत विविधाका तीन दर्जन विभिन्न शिर्षकका निबन्धहरू अर्धकदको अवसानमा परेका छन र निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ । निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगन्ती सुवासहरू पाइन्छन् । यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन् । हाम्रै पाखापखेराका सुसाइहरू छन् । हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन् । हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो ।
अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन् । देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन्। यिनमा तथ्यपूर्ण शब्द तथ्याड्ढहरू छन् ।
पाठकलाई जिज्ञासु बनाइरहने,पढँ पढुँ लाग्ने क्षमताले भरिएका निबन्धहरुको संगालो निजात्मक अनुभूतिका वेजोड चिन्तनमा अडिएका छन् । सुन्दर भाव र बिम्बायुक्त निबन्धहरुमा सहज र सरल भाषाशैली थपिँदाको मज्जा पाठकले पाउँछ । भावनाका गहिराईमा डुबेर अक्षरको खेती गर्न रुचाउने विवशको यो प्रयास सार्थक देखिएको छ ।
भुँडीपुराण प्रकाशनले अर्धकदको अवसानलाई प्रकाशनमा ल्याएको हो ।
आन्छनका कथाहरु
प्रवासमा बसेर पनि नेपाली भाषा साहित्यलाई माया गर्ने नाम हो चन्द्र मादेन आन्छन ।
यस कथासँग्रहमा उनका १० वटा कथाहरु रहेका छन् । यथार्थपरक लाग्छन् कथा । हाम्रै वरिपरिका पात्र र परिवेशका लाग्छन् कथा । कथा कुनै कल्पनाको उडानमा रमाइएका छन् । कतै मायावी कथानकता बुनिएर प्रेमिल बनेका छन् । फरक फरक विषयवस्तुमा अडिएर कथाहरु लेखिएका छन् । कथामा परिवार र ज्येष्ठ सदस्यहरुप्रति गर्नुपर्ने कर्तव्यबोधका कुरा पनि छन् । वर्तमान राजनीतिका विकृति र विसंगतिमा कथाा पोखिएको पनि छ । महिलाको साहासलाई कथामा विषयब्रस्तु बनाइएको छ । कुनै कथा डायस्पोरिक भावमा लेखिएका छन् । नेपाली समाजले नमान्ने र कानूनले समेत वर्जित गरेको बहुविवाह गर्दाका परिस्थितिको सटिक चित्रण भएको कथा पनि सँग्रहमा परेको छ । श्रीमान श्रीमति विचको सम्बन्धको आयाममा बच्चाबच्चीको भविष्यको रुपरेखा कोरिएको सन्देश कथामा पाइन्छ ।
विगतको नेपालमा भएको सशस्त्र द्धन्दले पारेको असरलाई कथामा चित्रण गरिएको छ । यसमा पूर्व जनमुक्ति सेनाको वर्तमानको हविगतको मज्जैले चरित्र चित्रण गरिएको छ । अभाव र वेरोजगारीको कारण मारमा परेको पात्रको कथा बडो मार्मिक र यथार्थजनित लाग्छ । आफ्रनै मान्छे आफ्नो शत्रु हुन्छ भन्ने कथा पनि यहाँ छ । आदिवासी जनजातिलाई राजनीतिमा कसरी उपयोग गरि स्वार्थसिद्धमा प्रयोग गरिएको छ भन्ने कथाको सत्यापन पनि कथामा देख्न सकिन्छ ।
यस्तै विषयगत विविधाका कथाहरुले भरिएको छ आन्छनका कथासँग्रह । सत्यको नजिक रहेर लेखिएका कथाहरु पठनीय लाग्छन् । कथाहरु कोरा नारामा छैनन् । शब्द चयन,सरलता र मिठासयुक्त भाषामा छन् । कलात्मक छन् ।
प्रस्तुत कथासँगह मञ्जरी प्रकाशनले प्रकाशित गरेको हो ।
प्रश्नको घेरामा समय
गजबको कृति छ यो । यो साहित्यका विभिन्न विधामा योगदान गरेका महिला साहित्यकारहरुसँग गरिएका अन्तरवार्ताहरुको सँगालो हो । यसमा अनुपमा रोशी,अर्चना थापा,उमा सुवेदी,नीलम कार्की निहारिका,प्रगति राई,प्रभा बराल,बिना थिँग,राधिका कल्पित,रेनुका जिसी र सरस्वती प्रतिक्षासँग उदय अधिकारीले गरेका अन्र्तवार्ता रहेका छन् । लामा छन् अन्तरवार्ता । साहित्यप्रति रुची,लेखक बन्ने विचार,मन पर्ने विधा,साहित्यप्रति उनीहरुको बुझाई,महिला लेखकका चूर्नाती,नारीवादी आन्दोलन प्रतिको धारणा,मनपर्ने लेखक,कारण र कृति,वर्तमानमा लेखनको अवस्था,विदेशी साहित्य र मन पर्ने विदेशी लेखक आदि बारे महिला साहित्यकारहरुका धारणाहरु समेटिएको छ ।
यसैगरी यौन,सौन्दर्य प्रतियोगिता,साहित्य सृजनामा घरपरिवारको संसारले गर्ने सहयोग,विभिन्न उपन्यासमा महिला पात्रहरुको स्थान,महिलाका साहित्यमा देखापरेका पुरुषवादी समाजप्रतिको विद्रोह जस्ता विषयमा लेखकहरुको दृष्ट्रिकोण समावेश गरिएको छ ।
नेपाली साहित्यमा भएको मूल्याँकनको परिपाटी बारे पनि प्रश्न गरिएको यो कृतिमा नेपाली यात्रा साहित्यको बारेमा पनि जिज्ञासा राखिएको छ । साहित्यमा भाषा,संस्कृति र पहिचानका विषयहरुमा माथि उल्लेखित महिला लेखकहरुको विचार उजागर गरिएको छ। साहित्य किन लेखिन्छ भन्ने बारेमा लेखकहरुको धारणा आएको छ । नारीवादी आन्दोलन र अभियान चलिरहेको सन्दर्भमा लेखकहरुको सहभागिताको अबस्था बारे पनि लेखकहरुको विचार आएको छ ।
यसरी यस कृतिमा वर्तमान पुस्ताका नाम चलेका विभिन्न सिर्जनात्मक र उम्दा लेखकहरुको धारणा जान्न पाठकलाई सहज हुने किसिमले कृति आएको देखिन्छ ।
प्रश्नको घेरामा समयलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।








