
बाजुरा । बाजुराका किसानलाई चाडपर्व भन्दा बाली भित्र्याउने चटारो बढेको छ । यहाँका ९ वटै स्थानीय तहका किसानलाई अहिले चाडबाड भन्दा पनि खेतबारीको काम प्यारो बनेको हो ।दशैँ,तिहार जस्ता चाडपर्वको भन्दा पनि किसानलाई कामको महत्त्व बढी छ ।
गाउँघरमा चाडपर्वको रौनक बढीरहेका बेला किसानहरु भने खेतबारीमा पाकेको धानबाली सुरक्षित रुपमा भित्र्याउन व्यस्त छन् । पाकेको धान,कोदो,झुमरो,कागुनो,सिमि लगायका बाली सुरक्षित गर्नु यहाँका किसानको दैनिकी बनेको छ । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानहरु धान तथा कोदो बाली भित्र्याउने तथा हिउँदे खेतीका लागी खेतबारी तयार गर्ने काममा जुटेका छन् । बर्षभरि मेहेनत गरेर उत्पादन गरेको अन्नबाली समयमै भित्र्याउनुपर्ने भएकोले किसानलाई चाडपर्वको तयारीभन्दा कृषि कर्मले बढी व्यस्त बनाएको छ ।
चाडबाडको बेला परिवारसँग रमाइलो गर्ने,नयाँ लुगा किन्ने र मिठोमसिनो खाने रहर भएपनि किसानका लागी खेतबारीको काम पहिलो प्राथामिकतामा परेको छ । प्रतिकुल मौसममा कारणले पनि यहाँका किसानलाई पाकेको बाली समयमै नभित्र्याउँदा क्षति पुग्ने चिन्ताले कामको चटारो थपिएको हो ।
दशैँ,तिहार आएपनि आम्दानीको मुख्य स्रोत धानबाली भित्र्याउनमै किसानहरु व्यस्त रहेको बाजुराको बडिमालिका नगरपालिका ७ की स्थानीय जुनादेवी पाध्यायले बताइन् । उनले भनिन्,‘चाडबाड आएपनि गाउँघरमा खासै त्यति चहलपहल छैन । सबै किसानहरु खेतबारीमा व्यस्त छन् । पाकेको धान तथा कोदोबाली भित्र्याउन यहाँका किसानलाई निकै चटारो छ ।’
यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । यहाँको त्रिवेणी, बुढिगङ्गा,खप्तड छेडेदह,गौमुल,बडिमालिका,बुढिनन्दा, स्वामाकार्तिक,हिमाली र जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने,सुकाउने चुट्ने कामको भ्याईनभ्याई छ । गाउँगाउँका खेतबारीमा निकै चहलपहल छाएको छ भने यहाँका मानिस बिहानै राति अवेरसम्म खेतमै कामकाजमा जुटेका देखिन्छन् । जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ ।
त्यस्तै कुल खेति गरिएको जमिन २६१६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो।त्यस्तै आर्थिक वर्ष २०८२÷०८३ मा १३ हजार ४५५ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ ।
विशेषगरी रामधान,जुम्ली,सावित्री, हिमाली धान,खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।गोविन्द्र राज तिमिल्सेना, नेपाल न्यूज बैंक







