
काठमाडौ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ।
टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो।
अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो। सोमबार सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो।
अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष रहेका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँ निर्धारण गरेको छ।
परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिमलिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ रूपैयाँ जरिवाना तोकेको छ।
अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेका कम्पनीमा इपिआइआइएसए मतियार ठहर जरिवाना छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ रूपैयाँ छ। बिइटिएसलाई मतियार ठहर गर्दै जरिवाना दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रूपैयाँ गरेको छ। सिएमसी डी राभेनालाई २६ करोड ११ लाख छ हजार नौ सय ९१ रूपैयाँ जरिवाना गरेको छ।
यस प्रकरणमा अन्य आरोपीले भने सफाई पाएका छन् ।

