
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता, डाटा साइन्स र साइबर सुरक्षालगायतका विषयमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना निर्माण र प्रशासनिक तथा शैक्षिक सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने पनि लक्ष्य छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल पूरा गर्ने र कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने विश्वविद्यालयले जनाएको छ ।
जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान केन्द्र स्थापना, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री र विद्यार्थी आदानप्रदान कार्यक्रम तथा पछाडि परेका वर्गका लागि छात्रवृत्ति विस्तार पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
सभामा मन्त्री पोखरेलले उच्च शिक्षालाई प्रविधि र विश्वव्यापीकरणको मागअनुसार रूपान्तरण गर्नुपर्ने बताउँदै पारित कार्यक्रमका लागि स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा तोक्न निर्देशन दिए ।
सभाले कार्यकारी परिषद्का लागि तीन वर्षे कार्यकालमा प्रा.डा. परिचा उपाध्याय ढुंगेल, प्रा.डा. कृष्णप्रसाद पाण्डे र प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।








