
काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा राखिने बरालले बताए ।
शर्मा ६ कार्यकाल काठमाडौं विश्वविद्यालयमा उपकुलपति भएका थिए ।
बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशक पनि थिए ।
उनलाई नेपालमा प्राविधिक शिक्षामा परिवर्तन ल्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ । विभिन्न १० कृति प्रकाशित गरेका डा.शर्माले विभिन्न जर्नलहरुको सम्पादन समेत गरेका छन् । नेपाल सरकारबाट विभिन्न विशिष्ट पुरस्कार र सम्मानहरु समेत पाएका डा.शर्मा विभिन्न साहित्यिक,सामाजिक संघसंस्थाहरुसँग पनि आवद्ध थिए । उनले कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए ।
विद्यालयदेखि उच्च शिक्षासम्म उनले योगदान दिएका थिए ।
बूढालीनकण्ठ स्कुलको अध्यक्ष भएर पनि उनले काम गरेका थिए । शर्माको श्रीमती र चार छोरी थिए । एक छोरी र श्रीमतिको निधन भइसकेको छ ।


