
काठमाडौं । मंगलबार निधन भएका क्रोधकला शिरोमणि अग्रज कलाकार कालु कुमालेप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । धातुका विशालकाय क्रोधित देवताको मूर्तिकला बनाएर प्रख्यात क्रोधकला शिरोमणि कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । प्रतिष्ठानका पदाधिकारीहरूले राष्ट्रिय झण्डा ओढाएर कुमालेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकारहरूले पनि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी पर्यटन मन्त्री तथा सांसदहरु समेत अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा पुगेका थिए ।श्रद्धाञ्जली अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले अग्रज कलाकार कालु कुमालेको निधनले समग्र नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
उनले भने, ‘प्रस्तरकला शिरोमणिका रूपमा परिचित कालु कुमालेजीको देहावसानले हामी अत्यन्त मर्माहत भएका छौं । सरकारले उहाँलाई जीवित सम्पदाका रूपमा सम्मानित गर्ने तयारीस्वरूप विधेयकलाई अन्तिम चरणमा पुर्याएको थियो र सोहीअनुसार आवश्यक प्रावधान र प्रक्रियाहरू पनि अघि बढाइएको थियो ।’मन्त्री पौडेलले प्रस्तरकला नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै कुमालेले भगवान्का मूर्तिहरू बनाएर ईश्वरकै निर्माण गरेको स्मरण गरे ।‘भगवान् बनाउने मान्छे, अर्थात् भगवान् सरहकै व्यक्तित्व आज हामीमाझ रहनुभएन । यो क्षतिलाई शब्दमा व्यक्त गर्न सकिँदैन र यसको कुनै परिपूर्ति पनि हुन सक्दैन,’ उनले भने ।
कुमालेले निर्माण गरेका सिर्जना र देखाएको बाटोमार्फत उनी सधैं जीवित रहने बताउँदै मन्त्री पौडेलले कुमालले जोगाउन खोजेको सम्पदालाई चीरकालसम्म संरक्षण गर्दै नयाँ पुस्ता तयार पारेर उनको सपना पूरा गर्नु सबैको दायित्व भएको बताए । मन्त्री पौडेलले दिवंगत आत्माको वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा समस्त कलाप्रेमीहरूमा गहिरो समवेदना र कुमालेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । उनको मङ्गलबार ९४ वर्षको उमेरमा निधन भएको हो ।





