
काठमाडौँ । हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।
नेपाल टेलिभिजनमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे ।
पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गर्ने हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित कान्तिपुरका श्याम श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा जोखिमपूर्ण रिपोर्टिङ गरेका नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङले सत्य तथ्य समाचार उजागर गर्ने भए पनि पत्रकारले आफ्नो सुरक्षाको ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालले पत्रकारिता क्षेत्र नै जोखिमपूर्ण रहेको बताउँदै जनताको हकअधिकार स्थापित गराउनका लागि सधैँ जोखिम मोल्न तयार रहेको बताए ।
वि.सं. २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परेका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।


