
नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा यस दुःखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ ।
निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको कांग्रेसले निन्दा र भर्त्सना गरेको छ ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको पार्टीको भनाइ छ ।
कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दुःखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
