
काठमाडौँ । । विद्यालय प्रणालीका लागि थप स्रोतसाधनको माग गर्दै सुरु आन्दोलन चर्किएको छ । किशोर–किशोरीले थालेको हप्तौँ लामो राष्ट्रव्यापी आन्दोलनको समर्थनमा मंगलबार वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खडा गरेका छन् ।
पेरिसको २०औँ जिल्लामा रहेको ‘हेलेन बुचर’ उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारअगाडि प्रदर्शनकारीले फोहोरका डब्बा र साइकल तेर्स्याएर अस्थायी अवरोध बनाएका थिए ।
देशभरका सयौँ अन्य विद्यालयजस्तै यो विद्यालय पनि मंगलबार बन्द थियो । विद्यालयमा तोडफोडका घटना बढ्नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीले गत सातादेखि विद्यालय बन्द गर्न थालेका हुन् ।
मंगलबार बिहान अन्य सहर तथा नगरमा पनि प्रदर्शन भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारलाई समेत दबाबमा पारेको उच्च माध्यमिक विद्यालयसम्बन्धी आन्दोलनको समर्थनमा मजदुर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए ।


