
काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
सोही अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था, सुरक्षण मुद्रण केन्द्र र विज्ञापन बोर्डका प्रमुखसँग पनि कार्यसम्पादन सम्झौता गरिएको छ ।
मन्त्री तिमिल्सिनाले सम्झौतालाई औपचारिकतामा सीमित नगरी वार्षिक लक्ष्य र परिणाम प्राप्तिको आधार बनाउनुपर्ने बताए । उनले निर्धारित समयभित्र लक्ष्य पूरा गर्न र सबै निकायलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही बन्न आग्रह गरे ।
सम्झौतामा सुशासन, सार्वजनिक सेवा सुधार, सञ्चार तथा डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर र पहुँच वृद्धि तथा प्रशासनिक एवं वित्तीय सुधारलाई प्राथमिकता दिइएको छ । नागरिकका गुनासा शतप्रतिशत फर्छ्योट गर्ने लक्ष्यसमेत राखिएको छ ।





