
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार आज शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरिएको छ ।
बाँकी भूभागमा भने मनसुनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ूआज मिति २०८३ असोज १७ का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ,ू महाशाखाले भनेको छ ।
मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा यो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पूरै नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा केही दिनअघि वा पछि पनि हुनसक्छ । यस वर्ष सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिन सुरु भएको हो । सुदूरपश्चिमबाट बिस्तारै कोसी प्रदेश हुँदै मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।
नेपालमा हरेक वर्ष कोसी प्रदेशबाट मनसुन भित्रन र सोही भूभाग हुँदै बाहिरिने गरेको छ । अंग्रेजी क्यालेन्डरका चार महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई नेपालमा मनसुन अवधि मानिन्छ । यो अवधिमा देशमा वर्षभरि हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गरेको महाशाखाले जनाएको छ ।
