
काठमाडौँ । नेपाल जेष्ठ प्राध्यापक समाजले एक विज्ञप्ति जारी गर्दै यही बुधवार बिहान भोटेकोशीमा उर्लिएको बाढीले रसुवा जिल्लालगायत नुवाकोट, धादिङ, गोरखा, तनहु्ँ तथा चितवन जिल्लाका नदी किनारमा रहेका बस्तीहरूमा विनाशकारी ताण्डव मच्चाएकोमा दुःख व्यक्त गरेको छ ।
समाजका अध्यक्ष प्रा.डा. सिद्धि कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘बाढीको प्रकोपका कारण त्यस क्षेत्रमा ठूलो जनधन, पशु चौपाया, भौतिक पूर्वधारहरूमा क्षति पुग्न गएको छ । यस सम्बन्धमा क्षतिको वस्तुगत आकलन भइनसकेको अवस्थामा तत्कालका लागि सम्बन्धित क्षेत्रमा परेका, जनको खोजी, उद्धार, उपचार तथा राहतको अत्यन्त खाँचो छ । यसतर्फ सरकारबाट द्रुत गति तथा दृढताका साथ चालिएको कदम प्रशंसनीय छ । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा यस्ता प्राकृतिक विपत्तिको नियमितताले देशको विकास तथा प्रगतिमा बाधक साबित भएको देखिन्छ । तसर्थ सरकारले सम्बन्धित विज्ञ पक्षहरूको सहयोगबाट अध्ययन अनुसन्धान, समयमै जानकारी गराउने पद्दतिको विकास गरी आगामी दिनमा यस्ता विपत्तिजन्य अवस्थाको न्यूनतम प्रभाव हुन आवश्यक पहल गर्नु पर्ने हुँदा नेपाल ज्येष्ठ प्राध्यापक समाज सरकारको ध्यानाकर्षण गर्दछ ।’
समाजले यस विपत्तको घडीमा सरकारसँग समन्वय गरी प्राविधिक तथा मानवीय लगायतका सहयोगमा तत्पर रहने प्रतिबद्धता व्यक्त गदै दिवंगत महानुभावहरू भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



