
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मिति २०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस राष्ट्रिय विपद्को घडीमा नाडाले सदैब राज्यको साथमा उभिने प्रतिवद्धता व्यक्त गरेको छ । उसले तत्काल राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु.१० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको छ ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। विशेष गरी, सम्माननीय प्रधानमन्त्री बालेन्द्रज्यू र माननीय गृहमन्त्री सुदन गुरुङज्यूले प्रभावित जिल्लाहरूका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्नुभएको, उद्धार तथा राहत उडानहरूको समन्वय व्यक्तिगत रूपमा गरिरहनुभएको, र विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको भन्दै निजी क्षेत्रलाई समेत यस कार्यमा साथ दिन गर्नुभएको आह्वानप्रति नाडा उच्च कदर गर्दछ। गृहमन्त्रीज्यूको यही आह्वानअनुरूप नाडा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहने। नाडा देशको आर्थिक संरचनालाई सशक्त बनाउन र त्यसको निरन्तरतामा विश्वास राख्दछ, र यो विश्वासअनुरूप मुलुक र यहाँका नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ।’

‘विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास नाडाको छ । यस कार्यमा जुट्न सबैमा हार्दिक अपिल गर्दछौं।’अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्तिमा भनेका छन् ।
आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर जारी रहने पनि विज्ञप्तिमा जनाइएको छ । उसले विपद्को सामना गर्न सबैले आआफ्नो क्षेत्रबाट लागिपर्न पनि आव्हान गरेको छ ।
