
काठमाडौँ ।काठमाडौँ मा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेको केही घण्टामै दाङमा उनकी आमाको मृत्यु भएको छ ।
दुई छोरालाई पढाउन तथा परिवारको खर्च धान्न रोजगारीका लागि मलेसिया रहेका घोराही उपमहानगरपालिका–१७ का रोमहर्श कालाथोकीमाथि एकैपटक छोरा र श्रीमती गुमाउनुपर्ने बज्रपात परेको छ ।
रोमहर्शका जेठा छोरा २२ वर्षीय वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा हत्या भएको थियो । घटनाको खबर घरमा भएकी आमा ३८ वर्षीया बिना कालाथोकीले थाहा पाएपछि सोही दिन दिउँसो करिब ३ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार छोराको हत्या भएको खबर पाएलगत्तै बिनाको मृत्यु भएको सूचना प्रहरीलाई आएको थियो । प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । कानुनी प्रक्रिया पूरा गरी उहाँको शव पोस्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । शव अहिले प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार, ‘छोराको हत्या भएको खबरले बिना विक्षिप्त हुनुभएको थियो। उहाँ घरमा एक्लै हुनुहुन्थ्यो । उहाँका श्रीमान् रोमहर्श रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ। उहाँ सोमबार नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।’
“छोराको हत्या भएको खबरले उहाँ निकै विक्षिप्त हुनुभएको थियो। यस्तो पीडादायी खबर एक्लै रहनुभएको अवस्थामा सुन्नुपर्दा उहाँले ज्यान गुमाउनुभयो,” वडाध्यक्ष चौधरीले जानकारी दिए।
