
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संस्थापनइतर पक्षले राखेको राष्ट्रिय भेलाबाट पार्टीको बृहत्तर एकताका लागि अपिल गरेका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको बताएका देउवाले कांग्रेसमा मतभेद हुँदा लोकतन्त्र कमजोर हुने र मुलुकको राष्ट्रियता नै खतरामा पर्न सक्ने पनि बताएका थिए।
‘विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने काम भयो। यो विषय सर्वोच्च अदालतमा पुनरवलोकनमा छ, यसबारे म धेरै टिप्पणी गर्न चाहन्न, अदालतबाट हामीलाई न्याय हुनेमा पूर्ण विश्वस्त छु’ देउवाले भने।
उनले भावनात्मक एकताको पक्षमा जोड दिँदै भने,’कांग्रेसभित्र भावनात्मक रूपमा एकता आवश्यक छ, यो पार्टीमा विवाद हुँदा मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ। सहमति र सहकार्यबाट मेलमिलाप गरेको अनुभव हामीसँग छ। पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय र कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ, व्यक्ति केन्द्रित हुनु हुन्न। पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु।’
उनले भने,’मुलुकको राजनीतिक अवस्था संवेदनशील छ। राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ। समाजमा अहिले पनि निराशा देखिएको छ, आशामा बदल्नुपर्छ यो दायित्व पुरानो दल कांग्रेसले लिनुपर्छ।’
विगतमा केही पनि भएको थिएन, जे भयो खराब भयो भन्ने भाष्य समाजमा फैलाउने हो भने त्यसले मुलुकलाई झन् कमजोर बनाउने पनि देउवाले बताए।
