
काभ्रेपलाञ्चोक।वर्षा हुनेबित्तिकै काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्के क्षेत्रमा पहिरो खस्ने र वीपी राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी नेपालका विभिन्न जिल्लाबाट काठमाडौं आउने तथाकाठमाडौँसहितका क्षेत्रबाट पूर्वी नेपालतर्फ जाने हजारौँ यात्रु प्रभावित हुँदै आएका छन् । साेमबार (साउन २५ गते) बिहान करिब ४ बजेतिर माथिबाट लेदोसहितको पहिरो खसेपछि पिन्थली, नार्के क्षेत्रमा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन ठप्प भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक निकिताकुमारी मिश्रको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल गरिरहेको जनाइएको छ ।
घण्टौँसम्म सवारीसाधन रोकिँदा यात्रुहरूले समयमै गन्तव्यमा पुग्न नसक्ने तथा कतिपय अवस्थामा वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता हुने गरेको छ ।
हाल पिन्थली, नार्के क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


