
काठमाडौँ। मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका सात दलले शनिबार काठमाडौँको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा मोर्चाको औपचारिक घोषणा गरेका हुन्।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।
तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत मोर्चामा सहभागी छन्।
मोर्चा घोषणा कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले देशमा संकट र अत्याचार बढेका बेला फरक राजनीतिक विचारधारा बोकेका शक्तिहरू विगतमा पनि एक ठाउँमा आएर संघर्ष गरेको बताए।विगतका दशकौं लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न आफूहरू एक ठाउँमा आएको उनले बताए ।
‘देश संविधानअनुसार चल्नुपर्छ, विधिसम्मत तरिकाले चल्नुपर्छ। कानुनी शासन र संविधानवाद कायम हुनुपर्छ,’ राउतले भने।



