
भक्तपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता–शक्ति नचाहिने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘कहिलेकाँही शक्तिभन्दा बाहिर बसेर बढी गर्नुपर्ने हुन्छ । सत्ता र शक्तिसँग कहिलेकाँही अलग थलग रहेर गर्नुपर्ने हुन्छ ।’
सत्ता र शक्ति लक्ष्य नभएर केवल साधनमात्रै भएको सभापति थापाको भनाइ थियो । ‘सत्ता र शक्ति प्राइमरी होइन, सत्ता र शक्ति फाइनल होइन । सत्ता र शक्ति लक्ष्य होइन, सत्ता र शक्ति केवल साधनमात्रै हो,’ उनले भने, ‘केवल माध्यममात्रै हो । यो नेपाली कांग्रेस हो ।’
‘पार्टीभित्र नमिलेका कुराहरूलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने पनि हो,’ उनले भने, ‘तर, पार्टीको आत्मा नमारिकन बनाउने हो । यसको क्यारेक्टर खोजेर, पुनस्र्थापित गरेर बनाउने हो ।’
सभापति थापाले पार्टीका कार्यकर्तालाई छाती पिटेर ‘म कांग्रेसको झोले हुँ’ बनाउन सक्ने कांग्रेस बनाउने पनि जिकिर गरे ।सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने पनि बताए

