
कोलकाता फर्किएकी तस्लिमालाई नेपालमा बोलाउनुपर्छ
आर एल श्रमजीवी
सन १९९३ मा आफ्नो देश बाङ्गलादेशमा बस्न नसकेर निर्वासनका लागि भारतको कोलकाता आएकी थिइन दक्षिण एसियाको एउटा सशक्त हस्ताक्षर तस्लिमा नसरिन। तर त्यहाँ पनि असुरक्षित भएपछि उनी युरोप बस्दै आएकी थिइन । साहित्यमा पाउन सक्ने नयाँ ऊर्जा लगभग उन्नाइस वर्षपछि निर्वासित बङ्गलादेशी लेखिका तस्लिमा नसरिन फेरि भारतको साहित्यिक राजधानी कोलकाता फर्किएकी छिन्। अगस्ट १, २०२६ मा एक साहित्यिक कार्यक्रममा सहभागी हुन पुगेकी उनी कलेज स्ट्रिटस्थित ऐतिहासिक इन्डिया कफी हाउसमा पुराना साथीहरूसँग भेटिइन्। त्यो केवल एउटा शहरमा फर्किनु थिएनस त्यो स्मृति, प्रतिरोध र स्वतन्त्र विचारको शहरमा एउटा लेखिकाको पुनरागमन थियो।
सन् २००७ मा कट्टरपन्थी दबाब र हिंसात्मक विरोधका कारण कोलकाता छोड्न बाध्य भएकी तस्लिमाको यो पुनरागमनले दक्षिण एसियाभरिका साहित्यिक वृत्तमा नयाँ चर्चा सुरु गरेको छ। यो घटनाले नेपाली साहित्यकारमा एउटा स्वाभाविक प्रश्न पनि जन्माएको छ—यदि तस्लिमा नसरिन नेपाल आइन् भने नेपाली साहित्यले के पाउनेछ ?
नेपाल र कोलकाताबीचको दूरी केवल भौगोलिक रूपमा मात्र होइन, साहित्यिक रूपमा पनि निकै निकट छ। कोलकाता नेपाली भाषा, साहित्य र प्रकाशनको इतिहाससँग गहिरोसँग उहिले देखि जोडिएको शहर हो। यहींबाट नेपाली राजनीतिको श्रीगणेश भएको थियो। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना कोलकाता मै भएको हो । नेपाली मूलका भारतीय नेपालीको उल्लेख्य बसोबास पनि कोलकातामा नै छ । भारतको कोलकाता ब्रीटिस सरकारको राजमा राजधानी थियो ।
पहिले कोलकाताबाट नेपाली भाषाका अनेक पत्रपत्रिका प्रकाशित भए, धेरै नेपाली लेखकले आफ्ना सिर्जनात्मक यात्रालाई नयाँ उचाइ दिए। आज त्यही शहरमा तस्लिमा नसरिनको पुनरागमनले नेपाली साहित्यिक वृत्तलाई पनि उत्साहित बनाएको छ।तस्लिमाको चर्चित उपन्यास ‘लज्जा’ नेपाली भाषामा अनुवाद भएपछि हजारौँ नेपाली पाठकले पहिलोपटक साहित्यलाई केवल मनोरञ्जन होइन, सामाजिक अन्यायविरुद्ध प्रतिरोध गर्ने माध्यमका रूपमा गहिराइसँग अनुभव गरे। विशेषतः महिला अधिकार, धार्मिक सहिष्णुता, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विषयमा नेपाली साहित्यमा नयाँ बहस सुरु गर्न यस कृतिले उल्लेखनीय भूमिका खेलेको थियो।
यदि तस्लिमा नसरिन नेपाल आइन् भने त्यो केवल एक विदेशी लेखिकाको भ्रमण हुने छैन। त्यो नेपाली साहित्यका लागि नयाँ वैचारिक ऊर्जा, नयाँ बहस र नयाँ पुस्ताका लेखकहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ। विश्वविद्यालय, साहित्यिक संस्था, पुस्तकालय र पाठकमाझ दक्षिण एसियाली साहित्य, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र महिलाको स्वतन्त्र अस्तित्वबारे व्यापक विमर्श सुरु हुन सक्छ।
तस्लिमा नसरिनले आफ्नो जीवनबाट एउटा सत्य प्रमाणित गरेकी छन्—निर्वासनले मानिसको घर खोस्न सक्छ, तर उसको विचारलाई कैद गर्न सक्दैन। आज उनी फेरि कोलकातामा उभिएकी छन्। भोलि यदि उनी काठमाडौं आइपुगिन् भने, त्यो केवल एउटा भ्रमण हुनेछैनस त्यो नेपाली साहित्यमा साहस, स्वतन्त्र चिन्तन र बौद्धिक जागरणको अर्को अध्याय बन्न सक्छ। अझ तत्काल आइन् भने त हिन्दु मुस्लिमका बीचमा मन बिभाजित भएको यो बेला एउटा गहिरो सन्देश जाने थियो । त्यसैले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समितिले तस्लिमालाई नेपालमा आउँन आमन्त्रण गर्नुपर्छ । यदि तस्लिमा नसरिनको सम्भावित नेपाल यात्रा साहित्यिक कार्यक्रमभन्दा धेरै ठूलो घटना हुनेछ। किनभने महान् लेखकहरू केवल पुस्तक लिएर आउँदैनन्, उनीहरू समाजलाई नयाँ प्रश्न गर्ने आँट पनि लिएर आउँछन्। तस्लिमा नारी हस्ताक्षर भएको हुँदा नेपालका नारी साहित्यकारमा पनि नयाँ उत्साह र उर्जा थपिने थियो तर बोलाउने पो कसले ?
लण्डन ,बेलायत


