पछिल्लो समय साउन १९ गते निधन भएका रविन्द्र मेहताका आफन्तले दोषी पक्राउ नगरेसम्म र सहिद घोषणा नगरेसम्म शव नबुझ्ने अडान लिएको र कप्तानगञ्जमा पनि दिनहुँ प्रदर्शन भइरहेका बेला केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।
गृहमन्त्री सुदन गुरुङले साउन १४ गते राति देवानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशका अभिभावकसँग दुवै जनालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एक–एक जना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको थियो। सहमति भएको भोलिपल्ट परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरिएको थियो। यही बिचमा साउन १९ गते अर्का घाइते रविन्द्र मेहताको पनि मृत्यु भएको थियो।
साउन १९ गते रविन्द्रको मृत्युपछि स्थानीयले कप्तानगञ्ज क्षेत्रमा दिनहुँ प्रदर्शन गर्दै आएका छन्। स्थानीयले गृहमन्त्री गुरुङले गरेको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।


