
असारे
डा. श्यामप्रसाद न्यौपाने
असार मासको दबदबे हिलो घिन लायो छुनलाई
टाढाको माया नलाउनु रैुछ सम्झेर रुनलाई
उर्लेर आयो त्यो केस्ती खोला मनमा पिरजस्तै
नौ जाले माया नलाउनु रैछ बढायो पिर मस्तै
वारिमा छल्को पारिमा छल्को बिचमा भुमरी
लगाएपछि हितैको माया बिर्सनु कसोरी
रिमीमा झिमी पानी है पर्यो सुसायो टायेँ बन
अनिष्ट हुने आशङ्का बढ्दा भयले काँप्छ मन
अलौँचे खर्क त्यो ठाडो खोला गौँडाको गरगरे
सम्झेर ल्याउँदा रसाउँछन् आँखा आइयुडी पहरे
किनारमाथि जलको छल्का उर्लेर आउँछ
खिर्राको डाली बसेर कौवा नमिठो गाउँछ
बाढी र पैह्रो एकै र चोटि आएर तर्सायो
सामन्ती चाला देखाएपछि कसको के लायो
बाढीले गाउँ बगायो बगे मानिस पशुधन
कसरी रोक्ने बाढी र पैह्रो गरौँ न क्यै चिन्तन

