
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो।
बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ।
‘हामी गहिरो दुःखका साथ भन्न चाहन्छौं- निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रोडपिकमा हिमपहिरोमा परेर ज्यान गुमाउनु भएको छ। अरू आरोहीहरूको पनि जीवित नभेटिएको हामीले जानकारी पाएका छौं,’ एलिट एक्सपेडले वक्तव्य जारी गरी भनेको छ।
पुर्जा नेतृत्वको १० जनाको आरोही टोली बिहीबार बिहान १० बजे हिमपहिरोमा परेका थिए। टोलीमा ६ नेपाली र चार विदेशी आरोही थिए।
आरोहण क्रममा करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेपछि हिमपहिरो खसेको थियो। त्यसमा परी बेपत्ता भएकाहरुको शुक्रबार अपराह्नसम्म खोजी भएको थियो।
शुक्रबारसम्म खोजी गर्दा तीन जनाको शव भेटिएको थियो। शुक्रबार तीनै जनालाई शुक्रबार आधार शिविर ल्याएर हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको थियो।
खोजी कार्यमा पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन लगायतका उपकरण परिचालन तथा काराकोरम पर्वत शृंखलामै पर्ने के-२का आरोहीहरू समेत खटिएका थिए।
निर्मल पुर्जाकै साथी रहेका प्रतिनिधि सभा सदस्य मिङ्मा डेविड शेर्पा पनि अनुभवी पाइलटसहित शुक्रबार नै ब्रोड पिक क्षेत्रमा पुगेका थिए।


