
काठमाडौं साउन ४ गते । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२ औं राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड प्रस्थान गरेका हुन् ।
इटीटीले इटिटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो । ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सिओलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन् ।
खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
अध्यक्ष खड्गीले खेलाडीलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे ।







