
काठमाडौँ।भारतमा संसद् अधिवेशनको पहिलो दिन सोमबार संसद् परिसर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ककरोज जनता पार्टी (सीजेपी०)ले आह्वान गरेको ‘संसद् चलो’ अभियानका कारण जन्तरमन्तरमा ठूलो संख्यामा समर्थकहरू भेला भएपछि संसद् क्षेत्रका कैयौँ प्रवेशद्वार बन्द गरिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष रंका आफ्ना मागहरू लिएर केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग भेट गर्न गएका छन् । दासले सोमबार बिहान सरकारले वार्ताका लागि सम्पर्क गरेको दाबी गर्दै परीक्षा प्रणाली सुधारसम्बन्धी आफ्ना मागमा वार्ताका लागि तयार रहे पनि सरकारकै तर्फबाट पहल हुनुपर्ने बताएका छन् ।
उता, वातावरण अभियन्ता सोनम वाङचुकले ‘संसद् चलो’ मार्चमा सहभागी हुन पाउन आफूलाई सफदरजंग अस्पतालबाट डिस्चार्ज गर्न माग गरेका छन् ।
यसअघि संसद्तर्फ अघि बढ्न खोजिरहेका प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीका अनुसार जन्तरमन्तरबाहेकका अन्य क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन तथा प्रदर्शन गर्न निषेधाज्ञा लागु गरिएको छ ।
सरकारमाथि विपक्षीको दबाब, संसद् अवरुद्ध
संसद् अधिवेशनको पहिलो दिन सोमबार राज्यसभामा नीट परीक्षाको प्रश्नपत्र चुहावट र त्यसविरुद्ध भइरहेको विद्यार्थी आन्दोलनको विषय प्रमुख रूपमा उठेको छ । विपक्षी दलको अवरोधका कारण राज्यसभाको बैठक पटक–पटक स्थगित गर्नुपरेको थियो ।
कांग्रेस अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले यो विषय लाखौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा भएकाले सदनमा विस्तृत छलफल हुनुपर्ने माग गरे । उनले जन्तरमन्तरमा जारी विद्यार्थी आन्दोलनमा प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरिएको र उनीहरूको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए ।
खर्गेको अभिव्यक्तिपछि विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेका थिए । त्यसपछि सभापति सी.पी. राधाकृष्णनले राज्यसभाको बैठक स्थगित गरेका थिए ।
