
भक्तपुर। नेपाल बार एशोसिएशन महिला समितिको आयोजनामा २ सम्म संचालन भएको राष्ट्रिय महिला सम्मेलन सम्पन्न भएको छ। भक्तपुरमा जारी सम्मेलनले २९ बुँदे भक्तपुर घोषणापत्र जारी गरेको छ।
सम्मेलनले भदौं २३ र २४ गतेको आन्दोलनबाट अदालत, बार, कानून व्यवसायीका कार्यालय जलेको प्रति चासो व्यक्त गर्दै पुनर्निमाणको माग गर्दै क्षती भएका कानून व्यवसायीलाइ क्षेतिपुर्तिको लागी बारलाइ पहल गर्न अनुरोध गरेको छ।
सम्मेलनले वरिष्ठ अधिवक्ताको उपाधीको लागी सर्वोच्च अदालत र उच्च अदालतको फैसलामात्र नभइ तीन तहको अदालत र मिलमिलाप प्रतिवेदनलाइ समेत गणना गरी उपाधी प्रदान गर्न आवश्यक कानून परिमार्जनको समेत माग गरेको छ।
घोषणापत्रमा भनिएको छ ‘बलात्कार लगायतका महिला तथा बालबालिका विरुद्धका जघन्य अपराधका घटनाहरुका लाङ्गक संवेदनशील, निष्पक्ष, स्वतन्त्र, प्रभावकारी अनुसन्धान गरी पीडितको गोपनीयता र सुरक्षाको समेत समुचित व्यवस्था गरी भई पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ। साथै बलात्कार लगायतका गम्भीर प्रकृतीका यौनजन्य हिंसाका घटनाका पीडित तथा पीडित परिवारको संवेदना, आत्मसम्मान र संरक्षणप्रति अनुसन्धान अभियोजन गर्ने निकाय तथा व्यक्तिलाई जवाफदेही बनाउन यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ’।
बालिका इनिसा विकको बलात्कार घटनाको छानविन गरी दोषीउपर हदैसम्मको सजायको माग समेत सम्मेलनले गरेको छ।
