जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट दुईपटक निर्वाचित भएका थिए ।
उनकी छोरी डा.मिनाक्षी ठाकुर जसपा नेपालबाट चुनावी मैदानमा उत्रिएकी छन् ।
जसपाबाट मिनाक्षी उमेदवार बनेपछि हरिनारायण यादव स्वतन्त्र उमदेवारी दिँदै प्रतिस्पर्धामा उत्रिएका छन् । यादव ०७९ को निर्वाचनमा ठाकुरका निकटम प्रतिद्वन्दी थिए । त्यतिबेला ठाकुर लोकतान्त्रिक समावादी पार्टी (लोसपा)नेपालबाट उमेदवार थिए भने यादव जसपा नेपालबाट ।
अहिले यी दुई पार्टी एक भएको छ । टिकट वितरण असन्तुष्ट यादवले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
०७९ मा स्वतन्त्र उमेदवार रहेका रामअधार कापरले यसपटक पनि स्वतन्त्र उमेदवारी दिएका छन् । ०७९ मा कापरले १२ हजार ७३३ मत पाएका थिए । ०७९ मा तेस्रो भएका कापरलाई यसपटक पनि कडा प्रतिस्पर्धी मानिएको छ ।
यो क्षेत्रमा यसपटक ४१ जनाले उमेदवारी दिएका छन् । महोत्तरी-३ मा राजनीतिक दलबाट १५ र २६ जना स्वतन्त्र उमेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट बजरंग नेपाली, नेकपा एमालेबाट मनोज कुमार सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट राजकिसोर साह मेहत्तरी सुडी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्जवल कुमार झा, जनमत पार्टीबाट अरविन्द ठाकुर, राप्रपाबाट राजेश्वर राय, नेपाल जनता पार्टीबाट विनय कुमार मिश्र उमेदवार बनेका छन् ।
यीबाहेक नेकपा संयुक्तबाट धिरेन्द्र कुमार शर्मा, नेपालका लागि नेपाली पार्टीबाट रजनिश राज पाण्डेय, श्रम संस्कृति पार्टीबाट मोहमद साविर नुरी, उज्यालो नेपाल पार्टीबाट रञ्जित कुमार साह, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहमद रिजवान अन्सारी, राष्ट्र निर्माण दलबाट मुस्ताक अहमद अन्सारी, आम जनता पार्टीबाट कैलाश महतो उमेदवार छन् ।
त्यहाँ उम्मेदवारी दिएका स्वतन्त्र उमेदवारहरूमा कापर, यादवसहित अजय कुमार महतो, घनश्याम झा, नईम राईन, नागेन्द्र ठाकुर, पवनकुमार यादव, पंकज कुमार पाण्डेय, बिजय कुमार मण्डल, वेचन प्रसाद मेहत्तरी, बेचन मण्डल, मुकेश राय, मोहन चौधरी, मोहम्मद फिरोज अन्सारी, रमण कुमार ठाकुर, राजकिसोर यादव, राकेश कुमार साह, राजनन्दन राय यादव, रामचन्द्र पासवान, रञ्जय कुमार मिश्र, रञ्जन कुमार झा, ववि कुमारी, शम्भु कापर, श्याम किसोर सिंह, सुरेश कुमार साह र सतिश कुमार शर्मा उमेदवार छन् ।
यो निर्वाचन क्षेत्रमा एक लाख १० हजार ४३६ मतदाता छन् । यसपटक १० हजार ६५ जना नयाँ मतदात थपिएका छन् ।
०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर यस क्षेत्रबाट १६ हजार ३७५ मत ल्याएर निर्वाचित भएका थिए । ठाकुरलाई ०७९ मा कांग्रेसले सर्मथन गरेको थियो ।
त्यसबेला ठाकुर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवले त्यसबेला १४ हजार ३२५ मत ल्याएका थिए ।
यो क्षेत्रबाट ०७४ मा पनि तत्कालीन राजपाबाट महन्थ ठाकुर नै निर्वाचित भएका थिए । उनी २६ हजार ८४५ मत ल्याएर विजयी भएका थिए ।
०७९ को चुनावमा प्रदेशसभातर्फ दुवै सिटमा तत्कालीन लोसपाले जित निकालेको थियो ।
