
होमप्रसाद चौंलागाँईं
पाँच दिनसम्म भब्यताका साथ मनाइने यमपञ्चकको पवित्र यात्रामा हामीले काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन, र भाइलाई श्रद्धासाथ पूजा गर्दै, पशुपक्षीप्रति हाम्रो सम्मान र परिवारप्रति हाम्रो प्रेमलाई प्रकट गर्ने गर्दछौं । यो पर्व केवल दीपको उज्यालोले घर आलोकित गर्ने मात्र होइन, मनमुटुमा आत्मीयता, एकता र संस्कारको उज्यालो बर्साउने एउटा अवसर हो । जसले प्रकृति, सम्पदा र सम्बन्धलाई थप प्रगाढ र गाढा बनाउँछ । तिहार हाम्रो लागि एउटा यस्तो परम्परा हो, जसले हामीलाई आत्मीयताको सुगन्धमा समर्पित, सौहार्दपूर्ण र स्नेहमय बनाउँछ ।
कात्तिक कृष्णपक्ष त्रयोदशीका दिकनदेखि सुरु हुने तिहार पर्व ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाई तिहार लक्ष्मीपूजा हो भने चौथो दिन गोर्बधन पूजा मनाइन्छ । यस दिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिन भाइटिका हो । तिहार पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने धार्मिक विश्वास छ ।
तिहारको पहिलो दिन भगवान् धन्वन्तरिको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरि जयन्ती पनि भन्ने गरिन्छ । तिहारमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दु धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । त्यतिमात्र नभएर तिहारले एकातिर मानव तथा पशुबिचको प्रगाढ सम्बन्धको चित्र पनि प्रस्तुत गर्दै आएको छ भने अर्कोतिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीयता र पवित्र स्नेह एवं सम्बन्धलाई पनि दर्शाउने गरेको पाइन्छ ।
यहाँ तिहारका पाँच दिनमा के के गरिन्छ भनेर केलाउने प्रयास गरेको छु । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका पनि विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङ्ग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।
यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइने गरिन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरीचाकरीबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दैमात्र आएको छैन, यसले अपकारी उत्तालगाउने कार्यमा समेत राम्रो सहयोग पु¥याउादै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्व सूचनासमेत दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौँ ।
गाई तिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा पवित्र तुल्याउने हिन्दुहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दुहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा लिने गर्दछन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औँसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।
यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतना शक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोक कल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औँसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी र यावत सन्दर्भमा यो दिनको ठुलो महत्व रहेको तथ्य स्पष्ट हुन्छ ।
सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औँसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लगि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्ने गरिन्छ । यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ । वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुख रात्रि भनिन्छ ।
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । पौराणिक कथाअनुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एक दिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबै जना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराउँछन् र भगवान् कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिएको र अन्त्यमा आफ्नो हार मानी गल्तीको लागि कृष्ण समक्ष क्षमा गरेको कुरा झनै महत्वपूर्ण छ । धार्मिक ग्रन्थ अनुसार त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रस्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक) को चौथो दिनमा पर्दछ र त्यस दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसै दिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालन हारी गोरुको पनि पूजा गर्ने चलन रही आएको छ ।
भाइ तिहार भाइटीका तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मन पर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको रहँदै आएको छ । परापूर्व कालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइ पूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
भाइ टिकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । उनका अनुसार लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा पनि लिइन्छ । यसरी हेर्दा यमपञ्चकको पाँचौँ दिन भाइटिका पर्छ । दिदीबहिनीले भाइटिकाको अघिल्लै दिन दाजुभाइलाई भाइटिकाको निम्ता स्वरूप पान–सुपारी, फूल आदि दिने चलन रहिआएको छ । टीकाको दिन टिका नलगाई केही खानु हुँदैन भन्ने धार्मिक विश्वास रही आएको छ ।
यस दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको पूजा गर्ने गरिन्छ । खास गरी यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्ने भएकोले भाइटिका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्ने गरिन्छ ।
त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्ने परम्परा छ । फूल, अक्षता, चन्दन तथा लाभले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइेदने गरिन्छ । सगुनका रूपमा दही दिँदा राम्रो हुने विश्वास गरिन्छ । भाइटिकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरिनै रहन्छ । त्यसलैले दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना समेटिन्छ । दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्काउँछ ।









