काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ४ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको
भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसै क्रममा एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् । अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास व्यक्त गरे।


