
काठमाडौँ, पौष ९ — बौद्ध दर्शनका अध्येता र ध्यान साधक ईश्वर श्रेष्ठसँग “बुद्धको पदचिन्हमा” शीर्षकमा एक विशेष प्रवचन सत्र यही शुक्रबार स्वयम्भूमा सञ्चालन हुने भएको छ।
करिब तीन दशक अघिदेखि ध्यान साधना र बुद्धशिक्षाको अभ्यास गरिरहनुभएका श्रेष्ठले कार्यक्रममा आफू बुद्ध मार्गमा लाग्नुको प्रेरणादायी पृष्ठभूमिका बारेमा चर्चा गर्नुहुनेछ।
बुद्धधर्ममा ज्यादै महत्वपूर्ण मानिने शुद्ध सिद्ध परम्पराका गुरुहरूको सान्निध्यमा रहि अभ्यास गरिरहनुभएका श्रेष्ठले विगत लामो समयदेखि आधुनिक समयका साधकहरूका लागि ध्यान र बौद्ध साधनाको प्रामाणिक मार्गदर्शन प्रदान गर्दै आउनुभएको छ।
कार्यक्रम शुक्रबार, पुस ११ गते (डिसेम्बर २६), साँझ ५:०० देखि ६:३० बजे स्वयम्भूस्थित बोधि हाउस (बुद्ध पार्कको रिङरोड पारि) आयोजना हुनेछ। नेपाली भाषामा सञ्चालन हुने कार्यक्रममा सबैका लागि खुला रहनेछ।
‘मेरो ध्यान यात्रा’ शृंखलाअन्तर्गत यो विशेष सत्रकोआयोजना बुद्ध प्रकाश फाउण्डेशनले गर्न लागिएको हो। आजको व्यस्त समयमा सत्य, ज्ञान, मानसिक शान्ति र आध्यात्मिक चेतनाको खोजीमा रहेका सबैका लागि यो संवाद निकै प्रेरक र सान्दर्भिक हुने आयोजकले जनाएको छ।






