
साताका मुक्तक
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
१.
मुखले राम राम भन्नेको किन हातमा हतासो छ
के हुँदैछ थाह छैन यहाँ लौ न चारैतिर चासो छ
पाप पखाल्ने वाहानामा खुस्स मुर्ति उखेल्नेलाई
उल्टै आजकल भक्तसँग भगवानको गुनासो छ ।
२.
देशको ढुकुटी थोप्पै छैन सबै सिध्याउने भए
बाँकी केहि नराखेरै पुरै खाली रित्याउने भए
सँहदा सहँदै अति नै भयो,उठौं नेपाली जनता
हुँदाहुँदै अन्तिममा आँशु मात्रै पियाउने भए ।
३.
अब उस्को याद ,खुकुरीको धार भएको छ
कलेजी मात्रै रेट्ने खै कस्तो प्यार भएको छ
बिंर्सु भन्दा पनि कसै गरि सक्दै सकिन मैले
दिल जति मेरो चोरेर फरार भएको छ ।
४.
सम्झि रहन्छु बिगतलाई बेला बेलामा
हेरेर भबिष्यका रेखाहरु हत्केलामा
धाई राख्छु म गाउँबेसीं पापी पेट भर्न
कहिले शहर, कहिले गाउँकै मेलामा ।
५.
एउटा हातमा अर्को हात मिलाए पछि
अप्ठ्यारो पर्दा साथमा साथ मिलाए पछि
साह्रो गाह्रो सबै काम अबश्य फत्ते हुन्छ
शान्तसँग दुबैको बिवाद मिलाए पछि ।
६.जिन्दगी चलाउने आफ्नै तरिका हुन्छ
मान्छेको विचार अनेक थरिका हुन्छ
स्वार्थि नबसेको कुन ठाउँ होला यहाँ
रुप राम्रोभएनि पीर मनभरिका हुन्छ ।








