
काठमाडौं।नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधानको मर्म अनुरूप निष्कर्षअनुरूप निकास खोज्न सुझाव दिएका छन्।
नेम्वाङले बिहीबार धारणा सार्वजनिक गर्दै उनले वर्तमान अन्यौल अवस्थाको निकास संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी गर्नुपर्ने धारणा राखेका छन्।
‘यो घटनाक्रमपछि ‘जेन–जी’ पुस्ताका प्रतिनिधिसँग राष्ट्रपतिज्यू र प्रधानसेनापतिज्यूले वार्ता गरिरहनु भएको छ। संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ। आजलाई मात्रै होइन भोलिलाई समेत ध्यानमा राखेर विवेक, धैर्य र संयमका साथ अघि बढ्नु जरुरी छ। फेरि पनि, समाधान संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरि संविधानको मर्मअनुरूप निष्कर्ष खोज्नु नै उपयुक्त हुन्छ’।
आफ्नो भविष्यप्रतिको चिन्ताले केही अपिल, अनुरोध, आग्रह र आक्रोश बोकेर सडकमा आएका कलिला नानीहरू तथा नौजवान साथीहरूमाथि बर्बर दमन भएको उनले बताएका छन्। त्यो सर्बथा गलत रहेको पनि उनले भनेका छन्।
‘जेन–जी युवाहरूले जुन आर्दश, सपना र संकल्प सहित आन्दोलनको प्रारम्भ गरेका थिए। उच्च जिम्मेवारीबोध सहित युवाहरुले गरेको त्यो ऐतिहासिक प्रर्दशन असाधारण र अभूतपूर्व थियो। नयाँ इतिहासको रचना गर्ने गरी भएको त्यो प्रर्दशनप्रति गहिरो सम्मान मैले उतिबेला नै गरेको थिएँ। तर बिडम्बना देश र आफ्नो भविष्यप्रतिको चिन्ताले केही अपिल, अनुरोध, आग्रह र आक्रोश बोकेर सडकमा आएका कलिला नानीहरू, नौजवान साथीहरू माथि बर्बर दमन भयो त्यो सर्बथा गलत थियो,’ उनले भनेका थिए।
सुन्दर नयाँ सपना र गहिरो संकल्प बोकेर सडकमा आएका साथीहरूले आफ्नो सुन्दर जीवन गुमाउनु पर्ने दुर्भाग्यपूर्ण अवस्था आउनु हाम्रो लागि लज्जाको विषय भएको उनले बताएका छन्।
उनले भनेका छन्-‘मैले त्यही दिन भनेको छु– यो हदसम्मको अपरिपक्वकता, असंयमता, विवेकहीनता, नालायकी र अमानवीयताको कारकहरु को–को हुन्रु निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ’।

