
काठमाडौं। सरकारले डेढ साताअघिको जेन-जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको विध्वंसक घटनाको छानबिन गर्न
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्रोतका अनुसार, २३ भदौमा जेन–जी प्रदर्शनमा भएको दमनको घटनाबारे सत्यतथ्य पत्ता लगाई त्यसमा संलग्नहरूको भूमिका किटान र दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी भोलिपल्ट काठमाडौं उपत्यका लगायत देशभरका सरकारी अड्डा, नेताहरूको घर तोडफोड एवं आगजनीको घटनाबारे पनि जाँचबुझ गर्नेबारे आयोगलाई जिम्मेवारी छ । स्रोतका अनुसार, आयोगले कारागारभित्र भएको हुलदंगा र १० हजार भन्दा बढी कैदी फरार भएको विषय समेत छानबिन गर्नेछ ।

