
काठमाडौं।नेपाल बार एसोसिएसनले सर्वदलीय संवाद शुरू गरि राजनीतिक निकास दिन सरकारलाई आह्वान गरेको छ ।
जेनजीको शान्तिपूर्ण प्रदर्शनमा भएको बर्बर दमन, हत्या र सम्पत्तिको नोक्सानीको नैतिक जिम्मेवारी लिँदै वर्तमान सरकारले राजीनामा दिई सर्वदलीय संवाद अघि बढाउनुपर्ने बारको आग्रह छ ।


सामान्य परिस्थितिमा समेत टाउकोमा नै ताकी अन्धाधुन्ध गोली प्रहार गरि नाबालक समेतको ज्यान जाने गरि भएको नृशंस कार्यलाई निन्दा गर्दै संलग्न सुरक्षाकर्मी तथा अधिकारीहरूलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेपाल बारको केन्द्रीय समितिको बैठकले माग गरेको महासचिव केदारप्रसाद कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आन्दोलनको क्रममा बेपत्ता भएकाको स्थिति पहिचान गरी वर्तमान अवस्था तत्काल सार्वजनिक गर्न समेत माग गरिएको छ ।
घटनामा मारिएका सबैलाई सहिद घोषणा गरि उनीहरूका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार तथा भरणपोषणको व्यवस्था गर्न, विगतको आन्दोलनको छानबिन समितिले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।
बारको विज्ञप्तिमा ‘राज्यका सबै निकायमा व्याप्त भ्रष्टाचारमा संलग्न वर्तमान तथा पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गरी कानून बमोजिम कारबाही गर्न एक उच्चस्तरीय न्यायिक छानबिन समिति अविलम्ब गठन गरि कारबाही हुने प्रबन्ध गरियोस् । गैरकानूनी रूपमा भएको सम्पूर्ण आर्जन रास्ट्रियकरण गरियोस्’ भनिएको छ ।


