
काठमाडौंको दक्षिण–पश्चिम कुनामा रहेको फर्पिङ। फर्पिङ क्षेत्र नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक महत्वको एउटा क्षेत्र हो जहाँ इतिहाससँगै यो बौद्ध केन्द्रको रुपमा पनि विकास भएको छ ।बौद्ध धर्मवलम्बीहरुले मान्दै आएका विभिन्न पवित्र धार्मिक स्थलहरु मध्ये एक हो आसुरी तहाग अर्थात् असुर गुफा (असुर ढाफुग) का नामले प्रसिद्ध छ । असुर गुफा दक्षिणकाली नगरपालिका वडा नं ५ मा अवस्थित छ | यस गुफालाई विशेष गरि बज्रयान तथा महायान बौद्ध धर्मावलम्बीले विशेष महत्व दिने गर्दछन्। बौद्ध धर्मको लामो इतिहास र परम्परा रहेको यस स्थलमा आचार्य पद्मसंभवले अर्थात गुरु रिन्पोछे यस गुफामा आउनु अगाडी यहाँ राक्षसहरु बस्ने भएकाले यसको नाम असुर गुफा रहेको आख्यान छ ।जहाँ असुरहरुले दुख दिने , भोकमरी , अनिकाल , दशा लागेको स्थानमा गुरु पद्मसंभवले उनीहरु बस्ने ठाउँमा नै जाने र आफ्नो अर्को साधनास्थल बनाउने निधो गरेका थिए । यहाँ असुरहरुसँग उनको स्वभावतः द्वन्द्व भयो । महातान्त्रिक वज्रकिलको ऋद्धिशक्तिद्वारा ती असुरहरु वशवर्ती भए । यसपछि उनीहरुलाई प्राणी हिंसाको संस्कार परित्याग गर्ने वाचा गराई शिष्य बनाए । साथै वज्रकिल तन्त्रको संरक्षक धर्मपालको रुपमा मनोनित गरियो ।

असुर गुफाको ढोकाको दाँया पट्टिको भीरमा एउटा दायाँ हातको एउटा हस्तछाप देख्न पाइन्छ । यस गुफाभित्र बसेर सिद्धि प्राप्त गरेपछि पद्मसंभवले निशानाका लागि सो हस्त छाप छोडेको भनिन्छ । जसलाई बौद्ध धर्मावलम्बीहरुले दोस्रो बुद्धकारुपमा मानिने पद्मसम्भवको हातको छापकारुपमा लिने गरेको पाईन्छ ।

को हुन् पद्मसम्भव ?

भोट बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । पद्मसम्भव वा आचार्य पद्मसम्भव वज्रयान बौद्ध धर्मको एक तान्त्रिक महासिद्ध थिए जसले भोट, भुटान र नेपाल आदि मुलुकहरूमा वज्रयान सम्प्रदायको स्थापन गर्नु भएको थियो। विशेष गरी उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा भोट, र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् ।करिब आठौँ शताब्दीतिर भोटका राज ठ्रिसोङ देचेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै भोटमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो ।

यसको सामुन्ने गुरु गोरखनाथको पाउको शिला प्रतीक रहेको छ । गुरु गोरखनाथ ८४ सिद्धमध्ये एक हुन् र बज्रयानी बौद्ध परम्पराअनुसार नै मानिन्छ । यसका साथै यहाँ प्राचीन अभिलेख पनि रहेको छ र यसलाई हिन्दुहरुले गोरखनाथ गुफा भनेर चिन्छन ।
वौद्ध धर्मावलम्वीहरु भूतप्रेत तथा राक्षसहरुको प्रभावबाट जोगिनका लागि गुरु रिम्पोछेँ भनेर पनि चिनिने शक्तिशाली गुरु पदमसम्भवको पुजापाठ गर्न उक्त गुफामा जाने परम्परा रहेको छ। यहाँ आइसके पछी सकारत्मक उर्जा आउने जनविश्वास रहेको छ | वज्रयान सम्प्रदायका अनुयायीहरु पद्मसम्भवले ध्यान गरेको सो स्थानमा नियमित पूजा अर्चना गर्छन् ।

बिहान ८ बजे देखि यहाँ पुजाअर्चना सुरु हुन्छ|यस गुफाको संरक्षण र सञ्चालनसम्बन्धी कार्य सम्पूर्ण कार्य बौध्द स्थित कानिङ सेदुप महाविहारले( सेतो गुम्बा) गर्दै आएको छ । सेतो गुम्बाका शिष्य साधना गर्न उनीहरु ३ वर्ष ३ महिना सम्म बसेर ध्यान गर्ने गर्दछन | अन्य देशका लामाहरु , अनुयायी साथै पर्यटक बढी आउने गर्दछन |

यो स्थानमा पुग्नको लागि फर्पिङ बसपार्कबाट दायाँ पद्मसम्भवमार्ग हुँदै माथि बज्रयोगिनी माईको मन्दिर पुग्ने र त्यहाँबाट बाँया गोरखनाथ मन्दिरको खुट्किलो उक्लेपछि सजिलै देख्न र पुग्न सकिन्छ । पद्मसम्भवले सिध्दि गरेको स्थान भएकोले यो स्थानलाइ पवित्र स्थान मानिन्छ |








