
काठमाडौं।कवि तथा गजलकार बाबु त्रिपाठीको गजलसंग्रह ‘बा’ र कवितासंग्रह ‘सालिकहरूको देश’माथि विमर्श सम्पन्न भएको छ ।
शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रमको प्रारम्भमा बाबुको एउटा कवितामाथि नाट्य मञ्चन गरियो ।
त्यसपछि आयोजित विमर्श कार्यक्रममा सर्जकहरू ज्योति जंगल, डा.दीपक खडका र कृतिकार त्रिपाठीले कृतिका बारेमा आफ्ना धारणा राखे ।
डा। खडकाले बाबुका गम्भीर र गहन कविता तथा गजलले आफूलाई तानेको बताउँदै यही काव्यकारिताले बाबुसँग परिचय गराएको बताए । उनले बाबुले गजलमा नयाँ पात्र सिर्जना गरेको चर्चा गर्दै उनका काव्यमा चेतना र दर्शन भरिएको बताए । उनले भने-‘बाबुका रचनामा प्रेमदेखि मृत्यु चिन्तनसम्म समेटिएको छ।’
कवि ज्योति जंगलले बाबुका कवितामा चेतनाको उच्चतम विन्दु भेटिने उल्लेख गर्दै आफूले बाबुका कवितामा एउटा योद्धा बोलिरहेको बताइन् । देशलाई माया गर्ने कवि बाबु भएको बताउँदै उनका कवितामा मानवीय चेत भरिएको उल्लेख गरिन् ।
रंगकर्मी राज शाहद्वारा सहजीकरण गरिएको थियो । कार्यक्रममा कवि त्रिपाठीले आफ्नो कविता लेखनबारे बताए ।



