
काठमाडौं ।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको भनिन्छ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए-‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
भानु जयन्तीकै दिन आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
हार्दिक श्रद्धान्जली आदिकवि भानुभक्त आचार्य ।


