
काठमाडौं, आषाढ २७ – बुद्ध प्रकाश फाउण्डेशनको आयोजनामा शुक्रबार सम्पन्न ध्यान तथा संवाद कार्यक्रममा प्रख्यात बौद्ध विदुषी, कवि र योगी कल्पना पराजुलीको प्रेरणादायी प्रस्तुति अत्यन्त सफल र सजीव रूपमा सम्पन्न भयो।
कार्यक्रममा उपस्थित ध्यान साधकहरूले मिलारेपाको जीवन, साधनाको मार्ग, र गुरुहरूसँगको सम्बन्धबारे सुनेर गहिरो प्रेरणा लिएको प्रतिक्रिया दिएका छन्।

पराजुलीले आफ्नो १६ वर्षको उमेरमै प्राप्त चित्तस्वरूप पहिचान गर्ने गूढ उपदेशका अनुभवहरू साझा गर्दै, ध्यानमार्गमा गहिरो प्रतिबद्धता कसरी विकसित गर्न सकिन्छ भन्ने विषयमा विचार राखिन्। उनले टुल्कु उर्ग्येन रिन्पोछे, ४१औं साक्या ठ्रिजिन, छोक्लिङ् रिन्पोछे, दाग्छेन् रिन्पोछे लगायतका महान गुरुहरूसँग शिक्षा लिएको प्रेरक प्रसंगहरू सुनाइन्। कार्यक्रममा पराजुलीले शीलको पालना, दैनिक जीवनमा करूणाको अभ्यास, ध्यानका लागि समय छुट्याउनु पर्ने आवश्यकता औंल्याउँदै ध्यान र जीवनबीचको सम्बन्धलाई सहज भाषामा स्पष्ट पारिन्।

ध्यान अभ्यासमा शारीरिक स्वास्थ्यको महत्त्वमा पनि जोड दिँदै उनले स्वस्थ जीवनशैली अपनाउन खानपान र शाकाहारी भोजनले सघाउने, बेलुका भारी खाना खाने बानीले शारीरिक स्वास्थ्य मात्र नभै ध्यान अभ्यासमा पनि बाधा आउने लगायतका जीवनशैलीसँग सम्बन्धित व्यवहारिक सुझावहरू प्रस्तुत गरेकी थिइन्।

उपस्थित सहभागीहरूबाट आएका गहिरा प्रश्नहरू र मिलारेपाको कथाहरूले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। बुद्ध प्रकाश फाउण्डेशनले यस्ता संवादमूलक कार्यक्रमहरू मार्फत बौद्ध शिक्षालाई जीवन्त र व्यवहारिक बनाउने उद्देश्य राखेको छ। शुक्रबारको कार्यक्रमले त्यो लक्ष्यतर्फ सार्थक पाइला चालेको इखबरनेटसँगको कुराकानीमा सहभागीहरूले बताए।



