
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु) नोट प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का व्यवस्थाअनुसार यसअघि जारी गरिएका व्यवस्थामा परिमार्जन गर्दै सन् २०१६ नोभेम्बर ९ भन्दा यता प्रचलनमा आएका प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको हो ।
साथै सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत रहेको जनाएको छ।
त्यस्तै राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्राको हकमा पनि सोही बराबर) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्। तर, अमेरिकी डलर पाँच हजारभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ ।
यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि कायम रहेको राष्ट्र बैंकले पुनः जानकारी गराएको छ ।
नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारसम्बन्धी अन्योल हट्नुका साथै नेपाल आउने भारतीय पर्यटकलाई सहजता पुग्ने र विदेशी विनिमय नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा लिएको जनाएको छ ।


